
विवेक भण्डारी
नवलपुर । मत्स्यपालनबाट मनग्य आम्दानी हुने भए पछि नवलपुरका अधकिांश युवाहरु मत्स्यपालनतर्फ लागेका छन । माछाका लागि वातावरण पनि अनुकुल र सोचे जस्तै आम्दानी हुने भएकाले युवाहरु अन्य पेशा छाडेर मत्स्यपालनमा आकर्षित भएका हुन् । जिल्लामा हाल ५ सय विगाहा भन्दा बढी क्षेत्रफल फर्म नै सञ्चालन गरी माछा पालनमा भइरहेको छ ।
माछा पालनका लागि अरु जिल्ला भन्दा नवलपुर जिल्ला भौगोलिक हिसावले पनि उत्कृष्ट रहेको नेपाल मत्य केन्द्रले प्रमाणित गरेको कारण पनि अहिले युवाहरु माछालाई नै मुख्य आम्दानीको स्रोत लिन थालेका हुन् । जिल्लाको देवचुलीमा माछा फर्म सञ्चालन गरी माछा पालन गरी रहेका हेमराज घिमिरेले अहिले खर्च कटाएर वार्षिक १५ लाख आम्दानी गर्दे आउनुभएको छ ।
माछा पालनबाट राम्रो आम्दानी हुने भएपछि पुरुष मात्र नभई अहिले महिलाहरु पनि आफै फर्म स्थापना गरी माछा पालनमा लागेका छन् । गैडाकोट, मध्यविन्दु र देवचलीका महिलाहरु आफै फर्म सञ्चालन गरि माछाबाट राम्रो आम्दानी गर्न थालेको निर्मला दाहाल बताउँनुहुन्छ ।
माछा पालनका लागि जिल्लाको देवचुली नगरपालिकालाई पकेट क्षेत्र र मध्यविन्दु नगरपालिलाई ब्लकका रुपमा छुट्याएको छ ।
जिल्लामा अहिले तीन सय टन माछा उत्पादन हुँदै आएको नेपाल मत्स्य व्यवसायी संघले जानकारी गराएको छ । उत्पादन राम्रो हुन थालेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि यहाका कृषकहरुलाई सहयोग गर्दै आएको कृषकहरुले बताएका छन् । नेपाल मत्स्य व्यवसायी संघका केन्द्रिय सहसचिव इन्द्रमणि भुषालले हाल जिल्लामा माछा पालन गर्ने क्षेत्रफल पनि बढेको बताउनुभएको छ ।
जिल्लामा अहिले माछा पालनका लागि धेरै युवाहरु अग्रसार भएका छन । देशमै केही गर्न सकिन्छ भन्दै कृषिमा लागेका युवाहरुलाई केन्द्र तथा प्रदेश सरकारले कृषिका लागि आवस्यक तालिम तथा सहुलियत वृद्धि गरी युवाहरुलाई कृषिमा नै प्रोत्साहन गर्न अझै आवस्यक देखिन्छ।
प्रतिक्रिया दिनुहोस्