
काठमाडौं । सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब रुपैयाँ बराबरको कर्जा उपलब्ध गराएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ अनुसार उक्त परिमाणको कर्जा उपलब्ध गराइएको हो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलाई राहत उपलब्ध गराउने गरी सरकारले विशेष व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ र चालू आर्थिक वर्षको बजेटमा समेत कोरोना प्रभावित क्षेत्रलाई विशेष राहतको व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा गत भदौ मसान्तमा एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको छ ।
दुई महिनासम्म एक लाख २० हजार ७ सय १५ ऋणीले सहुलियतपूर्ण कर्जा प्रवाह लिएका छन् । उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २ सय ७२ ऋणी लाभान्वित छन् । ती ऋणीले एक खर्ब २१ अर्ब ६ करोड कर्जा लिएका छन् ।
महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमी लाभान्वित भएका छन् । सो शीर्षकमा ६२ अर्ब ३७ करोड कर्जा उपयोग भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ५३ ऋणी लाभान्वित भएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्