१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वर्तमान सरकार विकासको बाधक : विष्णु पौडेल

‘एमाले कुनै पनि हिसाबले कमजोर छैन’

0
Shares

दिपक घिमिरे
भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उप–महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार विकासको बाधकको रूपमा देखिएको आरोप लगाउनुभएको छ ।

एमाले सिद्धार्थनगर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई मंगलबार भैरहवामा उद्घाटन गर्दै पौडेलले सरकारले राम्रो काम गर्ने सम्भावना नरहेको बताउँदै सरकारका हरेक निर्णय विवादास्पद भएको आरोप लगाउनुभयो ।

एमाले नेतृत्वको सरकारले गरेका सकारात्मक कामलाई सम्पन्न गर्ने नभई अहिलेको सरकारले त्यसलाई अलपत्र पार्ने काम गरेको उहाँको आरोप छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट कटौती गरेर सरकारले आयोजना सम्पन्न गर्नसमेत नचाहेको उहाँको भनाइ छ ।

पौडेलले पार्टीको असोजमा सम्पन्न विधान महाधिवेशनले एमालेलाई विभाजित र कमजोर पार्न सकिन्न भन्ने स्पष्ट भएको बताउनुभयो । उहाँले एमाले कुनै पनि हिसाबले कमजोर नभएको पनि जिकिर गर्नुभयो ।

‘एमाले फुट्यो भन्ने कुरा कसैले पत्याउँदैनन्, फोड्न खोजियो तर सकेनन्, कमजोर पार्न सकिन्छ कि भन्ने प्रयास असफल भएकाले यसमा चिन्तित हुनुपर्दैन,’ नेता पौडेलले भन्नुभयो ।