१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णालीकाे भङ्गालाेले लग्याे वर्षभरी हातमुख जाेड्ने बाली


0
Shares

बिराज रोस्यारा
कैलाली । कैलालीको पूर्वी क्षेत्र टीकापुरमा कर्णाली नदीको भङ्गालाेले धानबालीमा क्षति पुर्‍याएपछि स्थानीय मारमा परेका छन् । लगातारको वर्षापछि आएको बाढी खेतमा काटेर धानको पाँजा डुबाएपछि कृषकहरू समस्यामा परेका हुन् ।

रानी जमरा कुलरिया सिंचाइ आयोजनाको बाँध कर्णाली नदीले भत्काएपछि नदीको भङ्गालाे कैलालीको पूर्वी क्षेत्रका बस्तीहरूमा पसेका कारण किसानले लगाएको अन्नपात सखाप भएको छ । भङ्गालाे गाउँमा पस्दा कैलालीको टीकापुर नगरपालिकाका अधिकांश बस्ती डुवान हुनुका साथै खेतमा लगाएको धानबालीसमेत डुबाएको छ ।

टीकापुर बनगाउका स्थानीय चन्द्र चौधरीले बाढीका कारण घरबार मात्र हैन, पाक्न लागेको धानबाली सखाप भएको गुनासो गर्नुभयो । खेतमा नदी पसेका कारण खेत बगरजस्तै भएको र खेतमा भएको धान बगाएकाले हातमुख जोड्न र घर परिवार पाल्न समस्या हुने बताउनुभयो ।

धानबाली खेतमा डुबेका कारण धान उम्रिन थालेको छ भने धानमा जरा टुसाएर सेताम्य हुन थालेको छ । विगतका वर्षमा उत्पादन भएको केही अन्न बचेर परिवार पाल्ने गरेको बताउँदै यो वर्षभरीको मेहनत खेर गएको स्थानीय हिक्मत कुलाउले दु:खेसाे गर्नुभयो ।

टीकापुरका स्थानीय बाढी प्रभावितहरूले यसवर्ष लगाएको सबै धान बाढीले बगाएको र जोहो गर्न समेत समस्या हुने बताएका छन् । अधिकांश किसानले धान बेचेरै हिउँदे बालीका लागि गहुँको बीउ र मलखाद किन्ने खर्चको जोहो गर्ने गरेका छन् । तर, धानबाली नष्ट भएपछि आर्थिक समस्याले गहुँ लगाउन पनि समस्या हुने उनीहरूको‍ दु:खेसाे छ ।

बाढीले जानकी गाउँपालिकाको जगतपुर, मूर्तिया, पूर्व खैरीफाँटा, कटासे लगायतका गाउँमा धेरै नोक्सान गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीले क्षतिको विवरण संकलनको कार्य भइरहेको जनाएको छ । भित्र्याउन ठिक्क पारेको धानबाली वर्षाले नष्ट गरेपछि अधिकांश किसान ठूलो पीडामा छन् । भोकमरीको चिन्ताले आँशु बगाइरहेका किसान सरकारको राहतको पर्खाइमा छन् ।