१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘सत्ता गठबन्धन चुनावसम्म रहँदैन, पुनः बाम गठबन्धन बन्न सक्छ’


0
Shares

नवीनराज कुइँकेल
लमजुङ । नेकपा (एमाले)का सचिव एव गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नटिक्ने दाबी गर्नुभएको छ ।

नेकपा एमालेको पालिका अधिवेशनका लागि गृहजिल्ला लमजुङ आएका गुरुङले बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सत्ता गठबन्धनप्रति यस्तो टिप्पणी गरेका हुन् ।

‘लेखेर राख्नुहोस यो गठबन्धन आगामी निर्वाचनसम्म जानै सक्दैन’, प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, ‘नेपाली कां‌ग्रेस आफैँ ठूलो पार्टी छ, उ भित्र आकांक्षीहरू धेरै छन्, यस्तो बेला गठबन्धनमा भागबन्डा गरेर जाने सम्भावना नै देखिन्न ।

आगामी निर्वाचनमा पुनः बाम गठबन्धन बन्नसक्ने सम्भावना भने जीवितै रहेको उहाँले बताउनुभयो ।

‘राजनितिमा असम्भव भन्ने केही हुँदैन, त्यसको सम्भावना रहिरहन्छ’, उहाँले भन्नुभयो, ‘फेरि पनि बाम गठबन्धन भयो भने धेरै राम्रो हुन्छ, हामी बाम गठबन्धन भएर निर्वाचनमा जान तयारै छौं ।’

गठबन्धनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको भूमिकामा भर पर्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा सचिव गुरुङले मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा आफू महासचिवमा उठ्न चाहेको खुलासा गर्नुभयो । ‘अहिले सचिव छु, आवश्यकता महासचिवमा छ’, उहाँले भन्नुभयो, ‘मैले मात्र भनेर हुँदैन, नेताहरूसँग सल्लाह भएको छैन, एउटा पदाधिकारीको उम्मेदवार म हुँ ।’

गठबन्धन सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उपभोग गरेर फाल्न खोजेको उहाँको आरोप छ । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई ल्याएर सत्ता गठबन्धनले आफ्नो अभिष्ट पूरा गर्न जबरामाथि कार्ड खेलिएको उहाँको जिकिर छ ।

निवर्तमान मुख्यमन्त्री गुरुङले अर्ली इलेक्सनमा गएर मात्र वर्तमान गतिरोधको निकास खोज्न सकिने बताउनुभयो ।