२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जन्मकुण्डली हराएको कांग्रेस !

आमचासाे नीति र कार्यदिशामा, नेताकाे ध्यान नेतृत्वमा

0
Shares

अक्कल कुँवर
काठमाडौं । चार–चार पटक महाधिवेशन तिथि रद्द गरी कांग्रेस रणभूल्ल भइरहँदा प्रमुख प्रतिपक्षी एमालेले नाकका चालमा स्थानीय अधिवेशन सम्पन्न गर्नु आफैँमा अनुकरणीय काम हो । तर, कांग्रेसले यसलाई नैतिक दवावको रूपमा बुझेको छैन । बरु नेतृत्व दावीमै नेताहरू अलमलिएका छन् । हेर्दा लाग्छ– नीतिप्रधान मान्ने कांग्रेस र नेताप्रधान मान्ने कम्युनिष्टले सिद्धान्त नै साटासाट गरेका छन् ।

हरेक महाधिवेशन पार्टीका लागि शक्तिको पुनर्ताजगी हो । जटिल राजनीतिक वातावरणमा मुलुकको पुरानो र प्रभावशाली पार्टीको महाधिवेशनलाई अन्तराष्ट्रिय समुदायले पनि आगामी नीति र नेतृत्वको विषयमा चासो दिएको छ । तर, कांग्रेस नेतृत्व चयनमा मात्रै केन्द्रित देखिएको छ । हुन त कुनै पनि विषयमा नीतिगत छलफल नहुनु कांग्रेसको जन्मजात रोग नै हो ।

महाधिवेशनलाई नेतृत्व चयनको मात्रै माध्यम मान्ने परिपाटी केन्द्रदेखि वडातहसम्मै व्याप्त छ । महाधिवेशन नजिकिएसँगै गुट परिर्वतन र सिद्धान्त नभई पार्टीभित्र आफ्नो स्थिति बनाउन तथा स्वार्थ रक्षा गर्न गुट बन्ने गरेका छन् । भावी नेतृत्वका लागि झण्डै १ दर्जन नेता आकांक्षी रहे पनि पार्टी पुनर्जीवनको लागि दृष्टिकोण राख्न सकेका छैनन् ।

आकांक्षीहरूलाई बीपीको समाजवाद नामको स्थायी अन्तराबाहेक केही थाहा छैन । रस्साकस्सी केवल पार्टी नेतृत्व कब्जा गर्नेमा मात्रै सीमित रहँदा भाँडभैलो देखिएको कांग्रेसकै नेताहरूको स्वीकारोक्ति छ ।

सरकारको नेतृत्व गरिरहेको बेला पार्टीको अबको नीति र नेतृत्व कस्तो रहने भन्ने विषयको वैचारिक बहसले स्थान पाउनुपर्ने हो । लोकतान्त्रिक अभ्यास, नीति, पुस्तान्तरण जस्ता विषयमा आमकार्यकर्तामै असन्तुष्टि रहेका बेला यो विषयले प्राथमिकता पाउनुपर्ने हो । तर, पार्टीभित्रका गुटउपगुटहरू नेतृत्वकै विषयमा खुम्चिएका छन् । पार्टीको १४ औं महाधिवेशनले पनि तात्विक भिन्नता नल्याउने अवस्था छ ।

जनताबाट अनुमोदित माग र आवश्यकताको सम्बोधनसहितको जनमुखी नीतिका लागि बहस हुनुपर्ने भए पनि यो विषयले कुनै पनि मोर्चामा स्थान पाएको छैन । वडादेखि केन्द्रीय नेतृत्वसम्म नेतृत्व चयनको विषयले मात्रै प्राथमिता पाएसँगै आसन्न महाधिवेशनबाट कांग्रेसको नीति र दृष्टिकोणमा कुनै परिर्वतन नहुने निश्चित छ ।