
प्रज्ञा तिमिल्सीना
काठमाडौं । सर्नेभन्दा नसर्ने रोगको जोखिमले विश्व आतंकित छ । अस्वस्थकर खाना, जीवनशैली र सुर्तिजन्य पदार्थको सेवनले वर्षेनी मानवीय क्षति बढ्दो छ । कुल मृत्युको ६० प्रतिशत नसर्ने रोगका कारण नै हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।
क्यान्सर, मुटु, कलेजो, मधुमेह, मिर्गौला, दम, उच्चरक्तचाप, थाइराइड लगाएतका रोग नसर्ने रोगमा पर्दछन् । तर, हाम्रो खानपान, अस्वस्थकर जीवनशैलीका कारण नै लाग्ने यी रोग मृत्युको कारण समेत बन्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार नेपालमा मुटुरोगका कारण ३०, क्यान्सर ९, मधुमेह ४ र अन्य नसर्ने रोगले १३ प्रतिशत व्यक्तिको मृत्यु भएको देखाएको छ ।
यस्तै, स्वास्थ्य सेवा विभागको तथ्याङ्कले भने दुई तिहाई मृत्यु मुटुसम्बन्धी समस्या, क्यान्सर, मधुमेह तथा श्वासप्रश्वासका अन्य रोगका कारण भएको देखाउँछ । विश्वभर भने नसर्ने रोगका कारण ४ करोड १० लाख व्यक्तिको मृत्यु हुने गरेको छ । जुन संख्या विश्वभर मृत्यु हुने संख्याको ७० प्रतिशत रहेको डब्लुएचओले जनाएको छ ।
४ करोड १० लाखमध्ये १ करोड ५ लाख ३० देखि ६९ वर्ष उमेरका व्यक्ति रहेका छन् । संसारलाई त्रसित बनाएको नसर्ने रोगबाट हुने मृत्युलाई सन् २०३० सम्म एक तिहाईले घटाउने गरी सबै देशले दिगो विकासको लक्ष्य अन्र्तगत समेत राखेका छन् ।
सुर्तिजन्य तथा माद्यक पदार्थ सेवन, चिल्लो पिरो उच्च नुन सेवन, तारेको, पोलेको जस्ता अस्वस्थकर खानाका कारण नै नसर्ने रोग देखिने गरेको चिकित्सकको मत छ । अझ पेटमा हुने क्यान्सरको जड त पोलेको खानेकुरा नै भएको वीर अस्पतालका जनरल फिजिसियन डा. ध्रुव गैरे बताउनुहुन्छ ।
‘बार्बी क्यू गरेर खाँदा खानासँगै धुँवा पनि खाइने भएकाले स्वास्थ्यको लागि हानिकरक छ,’ उहाँ भन्नुहुन्छ, ‘तर, तन्दुरी अगेनामा पकाएका खानाले भने असर गर्दैन ।’
नेपालमा पनि सर्ने भन्दा नसर्ने रोगबाट नै धेरै व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ । विलासी जीवनशैली, अस्वस्थकर खानपान यसका कारक हुन् । यी तथ्य जान्दाजान्दै पनि मानिसमा लापरबाह बढ्ने गरेको देखिएको डा. गैरेको भनाइ छ । खानपानमा गरिएको लापरबाही अन्त्य गर्नसके नसर्ने रोगको आक्रमणबाट जोगिन सक्ने उहाँ बताउनुहुन्छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु सबैभन्दा बुद्धिमानी हुँदै हो । तर, नसर्ने रोगका नाममा हुने लापरबाहीले धनजनको क्षति बढ्दै गएको विषम परिस्थितिमा सरकारी स्तरबाटै प्राथमिकतासाथ यस्ता रोगका बारेमा स्वास्थ्य सचेतना र बहस बढाउनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्