१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


न्यायको दैलोमा आग्लो लगाएर कस्तो न्यायिक अभ्यास गर्दै हुनुहुन्छ श्रीमान ?


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । जनताको अन्तिम आश्रयस्थल हो– न्यायालय । तर, न्याय दिने त्यही थलो रणमैदानमा अनुवाद भएपछि न्यायका लागि पालो पर्खेर बसेकाहरूको प्राथमिकता ओझेलमा परेको छ । बार र बेन्च दुवै जनताको भावनाप्रति बेखबर बनेका छन् । थाहा छैन, न्याय माग्ने बर्गले नबुझेको शक्ति र सत्ताको संघर्षले कहिले निकास पाउँछ ।

तीन करोड जनताको आशा र भरोशाको तीर्थस्थल मानिने सर्वोच्च अदालत प्रहरी घेरामा छ । न्यायका लागि तिर्खाएकाहरूले यहाँ सहज प्रवेश नपाएको निक्कै दिन बितिसक्यो । न्यायको गजुर मानिने यो थलो चरम अराजकताको भुँवरीमा फस्दै गएपछि न्यायको तराजु धर्मराएको विश्लेषण हुन थालेको छ ।

बेन्च र बार को भन्दा को कमको मानसिकतामा छन् । प्रधानन्यायाधीशको तेजोवधमा उनकै सहकर्मी उत्रिएका छन् । यो लडाईं कसले जित्छ थाहा छैन तर यो कर्मले न्याय मुर्झाउने निश्चित छ । शक्तिको लडाईंमा न्यायका याचकमाथि अन्याय हुन नहुनेमा स्वयं कानुनकमीहरू नै सहमति जनाउँछन् ।

थुनछेकको मुद्दामा बहसका लागि केही दिनअघि सर्वोच्च अदालत आइपुग्नुभएका धनकुटा बार अध्यक्ष हिमा बस्नेत पनि न्यायाधीशको हड्तालले न्यायलिकामाथि खेलबाड भइहरेको टिप्पणी गर्नुहुन्छ । सेवाग्राहीमाथि भएको अन्याय क्षम्य नभएको टिप्पणी उहाँको छ ।

कतिपय कानुनकर्मी सर्वोच्च अदालत कहालीलाग्दो अवस्थामा पुगेको टिप्पणी गर्छन् भने कोही बार एशोशिएसनको वक्तत्व नै गलत रहेको विश्लेषण सुनाउँछन् । न्याय दिने न्यायाधीश स्वयं हड्तालमा उत्रिएर आफैँ अन्याय परेको छु भन्नु नै हास्यास्पद रहेको कतिपयको ठहर छ ।

ढिलो न्याय दिनु भनेका न्याय नदिनु नै हो । व्यक्तिको हारजितसँग न्यायका याचकहरूको कुनै लेनदेन छैन । उनीहरूलाई राजीनामासँग जोडिएको नाफा घाटा पनि थाहा छैन । प्रश्न उठेको छ– न्यायको दैलोमा आग्लो लगाएर कुन किसिमको न्यायिक अभ्यास गर्दै हुनुहुन्छ श्रीमान ?