१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अदालत बन्द नभएको सन्देश दिने प्रधानन्यायाधीशको प्रयास

आफैंले गरे पाँच मुद्दाको सुनुवाइ

0
Shares

मिरा बस्नेत
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहँदा आफ्नै एकल इजलासमा सुनुवाइ गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलास र संवैधानिक इजलास सहित ११ वटा इजलास तोक्नुभएको थियो । उहाँले इजलासमा तोकिएको ५ वटै मुद्दाको सुनुवाइ गर्दै दुई वटा रिटमा कारण देखाउ आदेश, एउटामा कैफियत प्रतिवेदन झिकाउने र एउटालाई तामेलीमा राख्ने आदेश गर्नुभएको थियो ।

यस्तै राणाको एकल इजलासले एउटा रिट निवेदन फिर्ता गर्ने आदेश पनि गरेको छ । उहाँको राजीनामा माग गर्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरेका छन् । न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण दुई दिनदेखि सर्वोच्च अदालतमा मुद्दा सुनवाइ नभएको अवस्थामा उहाँले इजलास बसेर सांकेतिक रूपमा अदालत बन्द नभएको भन्ने सन्देश दिनुभएको छ ।

यता प्रधानन्यायाधिश राणाको इजलास चलिरहँदा सर्वोच्च्च अदालतका अरु न्यायाधीश भने बुधबार पनि आन्तरिक छलफलमानै व्यस्त भए । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश राणाको राजीनामा नै अडिग रहने निष्कर्ष निकालेको छ ।

यसैबीच, सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न पूर्ण बैठक (फुलकोर्ट) बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले दवाव दिइरहेका बेला पूर्व न्यायायाधीश पण्डितको श्रद्धाञ्जलीका लागि फुलकोर्ट बसेको हो ।

पूर्वन्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फुलकोर्ट बैठक बस्न अस्वीकार गरेका थिए । प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद्मा भागबण्डा खोजेको लगायत विषयमा मुछिएपछि निकासका लागि मार्गप्रशस्त गरिदिनुपर्ने अडानमा अन्य न्यायाधीश छन् ।