
सोलुखुम्बु । पर्यटकीय नगर लुक्लामा इलाका प्रहरी कार्यालयको आफ्नै भवन तयार भएको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा निर्मित १६ कोठे भवनको नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेपछि कार्यालयले आफ्नै भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ ।
दुई करोड ६६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण भएको भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले समुदायको सहकार्यमा अपराध न्युनिकरणमा भूमिका खेल्न निर्देशन दिनुभयो । भौतिक संरचनासँगै प्रहरी कर्मचारीहरूमा नयाँ सोच र धारणाको विकास हुनुपर्ने उहाँको भनाइ छ ।
१ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरूमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा तल्लीन हुन आग्रह गर्नुभयो ।
भवन निर्माणका लागि सहयोग गर्ने वडा नं. २ का वडाअध्यक्ष आङफुर्वा शेर्पा, तारा इयरलाइन्सका म्यानेजर अमृतकुमार मगरसहित प्रहरी जवानहरुलाई सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्