२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, बिहीबार आठ महिनायताकै कम


0
Shares

काठमाडौं । नेपालमा पछिल्लो तीन महिना यता कोरोना संक्रमितको संख्यामा कमी आउन थालेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या समेत कम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मात्र मृत्यु भएको छ । यो संख्या दोस्रो लहरको संक्रमण सुरु भएको ८ महिना पछिकै कम हो । नेपालमा हाल सम्म संक्रमणबाट ११ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टाभित्र थप ५ सय ९१ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ३ सय ५५ जनामा भएको परीक्षणमा ५ दशमलव २ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार काठमाडौंमा १ सय ५७, ललितपुरका ३० र भक्तपुरका १२ जनामा गरी उपत्यकामा १ सय ९९ जनामा संक्रमण देखिएको छ । उपत्यकापछि कास्की , रुपन्देही र कैलाली जिल्लामा बढी संक्रमित भेटिएका छन् ।

यस्तै, देशभर थप ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । हाल २ सय ४८ जना आईसीयू र ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल उपत्यकाका तीन जिल्ला सहित कास्की जिल्लामा मात्र ५ सय माथि सक्रिय संक्रमित रहेका छन् ।