
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरेको छ ।
बिहीबार बसेको पार्टीको विशेष समितिको बैठकले महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको हो ।
यसअघि कार्तिक २७ देखि ३० गतेसम्म गर्ने तय गरे पनि महाधिवेशन केन्द्रीत आवश्यक तयारी नपुगेको भन्दै पूर्वनिर्धारित मिति परिमार्जन गरेको छ ।
बैठकले महाधिवेशन प्रतिनिधिको छनोट मंसिर १ देखि ३ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ । यस्तै, प्रदेश अधिवेशन कार्तिक २८ गते गर्ने निर्णय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार कार्तिक १८ गतेभित्र सक्रिय सदस्यता इन्ट्री गरिसक्नुपर्ने समयावधि तोकेको छ । हालसम्म राप्रपाको ६१ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।
महाधिवेशन नजिकिएसँगै राप्रपाभित्र नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । परम्परागत विचार बोक्ने पार्टीको छवि बनाएको राप्रपाभित्र यसपटकको महाधिवेशनमा पुस्तान्तरणको विषयले पनि प्राथमिकता पाएको छ ।
नेतृत्वका लागि हाल नेतृत्वमा रहेका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापा तथा दोस्रो पुस्ताका नेताहरू धवलशमशेर राणा र राजेन्द्र लिङ्देन आगामी नेतृत्वका लागि मुख्य आकांक्षी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्