१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस सांसदको एकमत– ‘न्यायालयको समस्या न्यायालयबाटै निरुपण हुनुपर्छ’


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले न्यायालयको समस्या न्यायालयबाटै निरुपण हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सांसद मीन विश्वकर्माले न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्रबाट नै हुनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीशको गल्ती नभए सर्वोच्चका न्यायाधीशहरूसँग बसेर छलफल गरी न्यायपालिकाको गरिमा बढाउनुपर्ने उहाँको सुझाव छ । सांसद विश्वकर्माले सरकारी कार्यालयमा हाकिम मन नपरेर आन्दोलन गरेको जस्तो न्यायाधीशहरूले गर्न नहुने तर्क गर्नुभयो ।

कांग्रेसका अर्का सांसद भीमसेनदास प्रधानले न्यायालयको समस्या न्यायलयबाटै निरुपण हुँदा सम्मानित अदालत र न्यायाधीशहरूको इज्जत बच्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीशले स्वविवेकले निकास दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद अमरेशकुमार सिंहले भने आफ्नै पार्टीको नेतृत्वप्रति छेड हान्दै राजनीतिक दलको नेतृत्वको असक्षमताका कारण देश अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । एउटै व्यक्ति पार्टीको लगातार नेतृत्वमा बसिरहनाले देशले ३० वर्षमा पनि गति लिन नसकेको तर्क गर्नुभयो ।