२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले नेतृत्वमा रहेका सबै सरकार ढालेर पत्तासाफ गर्ने अध्यक्ष दाहालको चेतावनी

चितवन महाभारतको कुरुक्षेत्र बन्न लागेको टिप्पणी

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको नेतृत्वमा रहेका सबै सरकार ढालेर पत्तासाफ गर्ने चेतावनी दिनु भएको छ ।

माओवादी केन्द्रले आज चितवनको भरतपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले एमाले अध्यक्ष केपी ओलीले आफूसँग बदला लिन खोज्दा बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले आफूसँग बदला लिन खोजे ओली आँफै सकिने चेतावनी दिँदै ओली प्रवृतिको अन्त्यका लागि पाँच दलीय गठवन्धन निर्माण भएको जिकिर गर्नु भयो । अध्यक्ष दाहालले ओली पानी बिनाको माछा झैं छटपटाउने र बरबराउने गरेको आरोप पनि लगाउनुभयो ।

माओवादीलाई सिध्याउन माडीमा राम सीताको नाटक मञ्चन गरिएको भन्दै उहाँले जनताको मन जितेर आएको पार्टीलाई सिध्याउने सपना कसैलाई नदेख्न चुनौति दिनुभयो ।

बुटवलमा गर्ने भनिएको महाधिवेशन आफूलाई सिध्याउन चितवन सारेको उहाँको जिकिर थियो । अध्यक्ष दाहालले चितवनमा ठूलो राजनीतिक लडाईं हुने र त्यो महाभारतको कुरुक्षेत्र जस्तै बन्ने बताउनु भयो । पाण्डव हुने की कौरव अब सोच्ने बेला आएको भन्दै उहाँले कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

ओलीबाहेकका कम्युनिष्टसँग एकताको लागि गृहकार्य भइरहेको र त्यसका लागि बिभिन्न चरणमा वार्ता भइरहेको उहाँकाे भनाइ थियो । त्यसअघि अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएका दाहालले चितवनको स्वास्थ्य क्षेत्रको विकासमा आफूले सरकारलाई ठोस कार्यक्रम योजना र बजेटका लागि आग्रह गर्ने आश्वासन दिनुभयो ।