१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विदेशी विनिमय सञ्चितीमा ९२ अर्बले कमी : व्याजदर बढ्ने खतरा, लगानीको वातावरण धुमिलिँदै

निक्षेप र कर्जाको अन्तर व्यवस्थापन गर्न अर्थविद्को सुझाव

0
Shares

नारायणी लामिछाने
काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको २ महिनामा विदेशी विनिमय सञ्चितीमा ९२ अर्ब ३५ करोडले कमी आएको छ ।

कोरोनाका कारण निर्यात बढ्न नसक्नु, पर्यटक नआउने र रेमिटयान्समा समेत कमी आउँदा विदेशी विनिमय सञ्चितीको आकार खुम्चिरहेको हो । दीर्घकालमा यसको प्रभावले महंगी, उत्पादन लागत बढ्ने र विकास निर्माणका काम समेत प्रभावित हुन सक्ने देखिएको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिती ६ दशमलव ६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा १३ खर्ब ६ अर्ब ९५ करोड कायम भएको छ । मुलुकको वैदेशिक व्यापार सन्तुलन कायम गर्न सहयोग गर्ने मुख्य सुचकको रूपमा विदेशी मुद्रा सञ्चितीलाई लिने गरिन्छ । तर, यो आर्थिक वर्ष सुरु भएयता भने क्रमिक रूपले कमी आएको छ ।

पछिल्लो दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ८ महिनाको वस्तु आयात र ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले विकसित मुलुकका लागि ३ महिना र अल्पविकसित मुलुकको विनिमय सञ्चिती न्यूनतम ६ महिना धान्न सक्ने हुनुपर्ने बेन्चमार्क कायम गरेको छ ।

कुनै पनि देशको विदेशी विनिमय सञ्चिती संवेदनशील हुन्छ किनकी विदेशी विनिमय सञ्चिती घट्दै जाँदा तरलता पनि घट्दै जान्छ । कारण ब्याजदर बढ्छ भने लगानीको वातावरण बन्न नसक्ने अर्थविद् नरबहादुर थापा बताउनुहुन्छ ।

नेपालले विदेशबाट आयात गरेको वस्तुको रकम भुक्तानी विदेशी मुद्रामै भुक्तानी गर्नुपर्ने हुन्छ । कारण आयात बढ्दा विदेशी विनिमय सञ्चिती पनि कम हुँदै जान्छ । नेपालको विदेशी रकम आर्जनको स्रोत रेमिट्यान्स, पर्यटन, वैदेशिक ऋण, अनुदान र पेन्सन हो ।

तर, भदौ मसान्तसम्ममा रेमिट्यान्स पनि ६.३ प्रतिशतले कमी आई १ खर्ब ५५ अर्बमा सीमित भएको छ । विप्रेषण आप्रवाहमा कमी आउने र आयातको ग्राफ उकालो लागिरहने हो भने विदेशी विनिमय सञ्चिती यथास्थितिमा राख्न चुनौतीपूर्ण हुने अर्थविद् थापाको तर्क छ ।

भदौ मसान्तसम्ममा निक्षेप परिचालन २१ प्रतिशत पुगिसकेको छ भने कर्जा प्रवाह ३३.१ प्रतिशत पुगेको छ । निक्षेप र कर्जा प्रवाहबीच रहेको अन्तर व्यवस्थापन गर्न सकेमा मात्रै विदेशी विनिमय सञ्चितीलाई व्यवस्थापन गर्न सकिने देखिन्छ ।