१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आयातीत इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्छ : पम्फा भुसाल


0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा भएको विद्युतीय गाडीको र्यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै दुई अर्ब र खाना पकाउने एलपी ग्याँसको आयातमा ४० अर्ब खर्च भइरहेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताउनुभयो।

बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युतको उपयोग बढाउनुको विकल्प नरहेको उहाँको भनाइ थियो । उहाँले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युतको खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताउनुभयो ।

मन्त्री भुसालले विद्युतीय गाडीको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र यसले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार/पाँच सय मेगावाट विद्युत् खेर गइरहेको र आउँदो दिनमा अझ बढ्ने निश्चित रहेकाले विद्युतको खपत बढाउन विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण भइरहेको उल्लेख गर्नुभयो । ललितपुरको जावलाखेलबाट सुरु भएको ¥याली काठमाडौंका विभिन्न ठाउँ हुँदै भृकुटीमण्डपमा पुगेको थियो ।