
काठमाडौं । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ नेपाली नागरिकलाई उद्धार गरेर स्वेदश ल्याएको छ ।
शनिबार बिहान अफगानिस्तानमा बाँकी रहेका ३२ नेपाली नागरिकलाई पनि उद्धार गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
योसँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिक नरहेको परराष्ट्र मन्त्रालयको दावी छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाइमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरू अब नरहेको बताउनुभयो ।
विहान नेपाल एयरलाइन्सको दुबई उडानबाट २९ जना र त्यसअघि अन्य ३ जना नेपाल फर्किएको उहाँको भनाइ छ ।
परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यसअघि नै उद्धार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्