१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केपी ओलीले संविधान संशोधनको प्रस्ताव पास हुन दिएनन्– अध्यक्ष दाहाल

जनता समाजवादी पार्टीसँग पार्टी एकता गर्न आह्वान

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव पास हुन नदिएको आरोप लगाउनुभएको छ ।

अखिल नेपाल शिक्षक संगठन र नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनको एकता कार्यक्रममा बोल्दै आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनको प्रस्ताव गरे पनि केपी ओलीले प्रस्ताव पास हुन नदिएको बताउनुभयो ।

नागरिकताको विषय छिट्टै टुंग्याइने र माओवादीले मधेशी जनतालाई नागरिकता दिने पनि अध्यक्ष दाहालले बताउनुभयो । ‘प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि मधेशी जनताको नागरिकताको समस्या हल हुनेछ’ उहाँले भन्नुभयो, ‘प्राविधिक कुरा अहिले म भन्दिन ।’

ओलीले संविधान र संघीयतामाथि धावा बोलेको र जनतालाई धोका दिएको भन्दै उहाँले संघीयताविरोधी र संविधान मिचाहको संज्ञा दिनुभयो । ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रको बजेट घटाएर शिक्षा क्षेत्रमा काम गर्ने प्राध्यापक, कर्मचारी र शिक्षकलाई हत्होत्साही बनाएको आरोप लगाउनुभयो ।

अध्यक्ष दाहालले मधेशी जनताले सक्कली मधेशवादी र नक्कली मधेशवादी चिनेर आगामी निर्वाचनमा देखाइदिनुपर्ने बताउनुभयो । आफूले जहिल्यै पनि समावेशी र समानताको विषयलाई महत्व दिएको स्मरण गर्दै उहाँले दलितलाई फेरि पनि प्रदेश प्रमुख बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले केन्द्र र प्रदेश २ सरकारमा सबैलाई समान तरिकाले मौका दिएको छु ।’

अध्यक्ष यादवले जनता समाजवादी पार्टीसँग पार्टी एकताको लागि आह्वान गर्नुभयो । शिक्षक संगठनहरू एक भएको अवस्थामा पार्टी पनि एक हुनुपर्ने पनि बताउनुभयो । एकता गर्दै जनकपुरमा एकता सभा गर्न पनि उहाँले आह्वान गर्नुभयो ।