१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर गरे प्रदर्शन


0
Shares

काठमाडौं । नेपाल बार एशोसियसनले आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै औपचारिक रुपमा आन्दोलन थालेको छ ।

बारले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिईरहेको छ । बारको नेतृत्व र सदस्यहरु प्रधानन्यायाधीश राणाको राजीनामा मागिएको ब्यानरसहित धर्नामा बसेका हुन् ।

बारको विरोध चलिरहेको बेला कानुन ब्यावसायी र विद्यार्थीहरुको एउटा समूह प्रधानन्यायाधीश राणाले राजीनामा दिन नहुने माग गर्दै बार परिसरमा पुगेको थियो ।

उनीहरुलाई पुलिस लगाएर बाहिर पठाएपछि बारको टोली भने सर्वोच्च अदालतको परिसरमा धर्नामा बसेको छ । विरोधको यो कार्यक्रम तीन दिनसम्म चल्नेछ । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता र गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बारले राणालाई राजीनामाका लागि ५ दिनको अल्टिमेटम दिएको छ ।

कात्तिक १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ । उता, प्रधानन्यायाधीशको राजीनामा माग्दै गत सोमबारदेखि इजलास बहिष्कार गरिरहेका सर्वोच्चका न्यायाधिशहरुले आज थप रणनीति तय गर्ने भएका छन् । इजलास बहिष्कार गरेर विदामा बसेका न्यायाधिशहरु पनि आज सर्वोच्चमा उपस्थित भएर छलफल गर्ने जनाइएको छ ।