मिरा बस्नेत
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि कम्तीमा ६ महिना समय माग्नभएको छ ।
आइतबार न्यायाधीशहरूले बनाएको तीन सदस्यीय टोलीसँगको छलफलका क्रममा जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि आगामी वैशाखसम्मको समय माग्नुभएको हो । जबराले समय मागेपछि आन्दोलनरत १५ न्यायाधीशको अलग्गै बैठक बसिरहेको छ ।
बैठकमा वार्ता टोलीका न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा पनि सहभागी छन् । उक्त छलफलमा प्रधानन्यायाधीशले राखेको प्रस्तावमाथि आवश्यक निर्णय लिने तयारी न्यायाधीशहरूले गरेका छन् ।
आइतबारकाे छलफलमा जबराले अहिलेको असामान्य अवस्थामा अपमानित भएर नबाहिरिने बताउँदै केही समय आफैँलाई काम गर्न दिन आग्रह गर्नुभएको थियो । तर, आन्दोलनमा उत्रिएका न्यायाधीशहरुले भने जबराले तत्काल राजीनामा दिनुपर्ने वा राजीनामाको लिखित प्रतिवद्धता आउनुपर्ने माग राखेका छन् ।
उनीहरूले विकल्पको रुपमा प्रधानन्यायाधीशलाई बिदामा बस्न पनि सुझाव दिएका छन् । न्यायाधीशको छलफलबाट निस्केको निष्कर्ष साेमबार वार्ता कमिटीले प्रधानन्यायाधीशलाई सुनाउने छ । प्रधानन्याधीश राजीनामा दिन वा शर्त मान्न तयार भएमा आज वन्दीको मुद्दा र भोलि नियमित इजलासमा फर्कने आन्दोलनरत न्यायाधीशको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्