
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह उठेको बताउनुभएको छ ।
सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरूमाथि प्रश्नचिन्ह खडा भएको बताउनुभएको हो । संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरू समेतले आफ्नो भुमिका प्रभावकारी रुपमा खेल्न नसकेको उहाँले बताउनुभयो ।
राजनीतिक पार्टीहरू जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको नेता पौडेलले बताउनुभयो ।
उहाँले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागि पर्ने पनि बताउनुभयो । देशमा पार्टी व्यवस्थित रूपमा चल्नुपर्ने, संवैधानिक निकायहरू व्यवस्थित रूपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उहाँले बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले आफूले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिँडेको बताउनुभयो । वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भए पनि राजनीतिक मुद्दामै अल्मल्लिनुपरेको भन्दै उहाँले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
पौडेलले नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको बताउनुभयो । वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्