
प्रज्ञा तिमल्सीना
काठमाडौं । हिउँदलागेसँगै चिसो बढेपछि बालबालिका र वृद्धवृद्धामा निमोनियाको जोखिम रहन्छ । अझ बालबालिकामा त एकपटक निमोनिया लागेपछि त्यसको प्रभाव दीर्घकालसम्म रहन्छ ।
यस्तो अवस्थामा त्यो समूहलाई चिसोबाट बच्ने र बचाउने पहिलो कर्तव्य हो । त्यसबाहेक निमोनिया संकट टार्ने अर्को उपाय खोप भए पनि सबैसँग पहुँच र क्षमता नहुँदा सर्वसुलभ बन्न सकेको छैैन ।
फोक्सोका तन्तुहरूमा व्याक्टेरिया, भाइरस, फङ्गस ढुसी वा परजीवीको आक्रमणले फोक्सोमा संक्रमण भई निमोनिया देखिने गर्छ । चिसो मौसममा बढी देखिने निमोनियाले ५ वर्षमुनि र ६० वर्ष माथिका व्यक्तिलाई धेरै पिरोल्ने गरेको छ । विश्वमा वर्षेनी ४५ करोडमा निमोनिया देखिने गरेको तथ्याङ्क छ ।
धुवाँ, धुलो, दाउरा, गुइँठाबाट निस्कने धुवाँ, धूमपान, मद्यपान गर्ने र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा निमोनियाको प्रभाव बढी देखिने गरेको छ । समयमा नै उपचार हुन नसके निमोनियाको समस्या फोक्सोमा फैलिएर मृत्यु हुने चिकित्सकहरू बताउँछन् ।
निमोनिया विरुद्धको पिसिभी खोपले भने निमोनियाको समस्या कम गराउन सक्छ । एक पटक लगाए पुग्ने पिसिभी खोपको बजारमा ५ हजार २ सय देखि ७ हजार २ सय सम्म मूल्य पर्ने गरेको छ । मुटु, कलेजो, छातीको समस्या भएका व्यक्तिले खोप लगाउन अत्यावश्यक हुने चिकित्सकहरू बताउँछन् ।
ललितपुर महानरपालिकाले आइतबारदेखि निमोनियाविरुद्धको खोप पहिलो पटक समुदाय स्तरमा नै लगाउन सुरु गरेको छ । महानगरपालिकाले ७५ वर्ष माथिका नागरिकलाई खोप लगाउन थालेको ‘ज्येष्ठ नागरिक स्वास्थ्य विज्ञ’ डा. रमेश कँडेल बताउनुहुन्छ । पिभिसी खोप समुदायस्तरमा लगाइएको नेपाल मात्र नभएर दक्षिण एसियामा नै पहिलोपटक भएको उहाँको दावी छ ।
महानगरपालिकाले ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । खोपले निमोनियाबाट हुँदै आएको ८० प्रतिशतसम्म मृत्युदरलाई १० प्रतिशतमा झार्न सहयोग पुर्याउने विज्ञ कँडेलको भनाइ छ । ज्येष्ठ नागरिकलाई दिनैपर्ने चार/पाँचवटा खोपमध्ये सबैभन्दा महत्वपूर्ण खोप पिसिभी रहेको उहाँ बताउनुहुन्छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत शिशु ९ महिनाको हुँदा निमोनिया विरुद्धको खोप लगाइन्छ । सन् २००९ देखि शिशुलाई लगाउन सुरु गरे पनि खोपसम्म सबै बालबालिकाको पहुँच पुग्न सकेको छैन । जसका कारण निमोनियाबाट सयौं बालबालिका प्रभावित हुने गरेका छन् । त्यसैले समाजका बालबालिका र वृद्धवृद्धाको जीवन रक्षाका लागि खोपलाई सर्वसुलभ बनाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्