९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


दुर्गा प्रसाईको घूस: ओली युगको दुर्गन्ध कि सुगन्ध कमरेड ?


0
Shares

-संजिव कार्की 

नेपालमा मार्सी भातलाई ब्रान्डिङ गर्न कसैको योगदान छ भने त्यो मेडिकल उद्यमी दुर्गा प्रसाईंको छ । उनले जानेर नजानेर जसरी प्रचार गरेपनि मार्सी भातको चर्चा केही वर्षदेखि चुलिएको छ । जब उनले आफ्ना प्रिय कमरेडहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई आफ्नो घरमा मार्सी भातको मेजमानी गरेको तस्विर सार्वजनिक गरे तब मार्सीले ब्राण्ड पायो । मार्सी चामलको भाउ मात्रै आकासिएन मार्सी चामलको अभाव काठमाडौँ लागायत देशका प्रमुख सहरमा रहेको कुरा पत्रपत्रिकामा प्रसस्तै पढ्न पाइएको थियो  ।

जुन उद्देश्य र प्रयोजनमा प्रसाईंले फोटो सार्वजनिक गरेको भए पनि टेबलमा देखिएको रातो मार्सीले बजार पायो । जुन मार्सी खेती गर्ने किसानको लागि खुसीको कुरा थियो र भयो ।  प्रसाईं जे गर्छन चर्चा योग्य काम गर्छन । सहरका हर रेस्टुरेन्टको मेनुमा मार्सी थपिने सौभाग्य प्राप्त भयो । झापामा बिएनसी अस्पताल बनाएर पनि उनी चर्चामा छन । चर्चा यसकारण कि यो अस्पतालमा लगानी गर्ने हैसियत उनको हैन । तर यतिधेरै लगानी कहाँबाट आयो ? प्रश्न नै प्रश्न छन ।

 उत्तर पनि धेरैको मुखमा छ– यिनी प्रचण्डका प्रिय पात्र हुन । दुर्गाले गोविन्द केसीको जमेर आलोचना गरे । डाक्टर पढ्दा पास हुन नसकेकोले अनशन बसेर नै डाक्टर पास भएको अचम्मको आरोप लगाए । त्यो पनि चर्चा कम भएन कारण अनसन बसेर डाक्टर पास हुन्छन भन्ने विश्वास लिने मान्छेको मेडिकल कलेजले बिद्यार्थी पढाएर डाक्टर बनाउछ कि सर्टिफिकेट विक्री गरेर ?  प्रचण्ड र ओलीको लागि वार्तास्थल आफ्नो घर बनाएको जस लिन पार्टी एकीकरण (नेकपा एमाले र माओवादी) मेरै कारणले मिलेका हुन पनि भन्न भ्याए ।

मेरै पहलमा एकीकरण सम्भव बनेको हो ।  प्रचण्ड आफ्नो नेता मात्र हैन बाबु पनि हुन भनेर बाबुकै सम्बोधन गर्छु उनको कथन छ । ओली र आफू दुवै पहिले ते¥हथुम आठराईको पानी खाएको र अहिले झापाली कुमाई भएकोले ओलीसँग पनि नाता सम्बन्ध रहेको खुलाउन उनी अप्ठ्यारो मान्दैनन । प्रचण्ड आफ्नो आदर्श  र प्रिय मान्छे भएको उनको कथन यसकारण पनि सही लाग्छ । उनी प्रचण्डको हर गतिविधिमा नजिक भएको सार्वजनिक माध्यमबाट देख्न र सुन्न पाइन्छ । प्रचण्ड बिदेश भ्रमणबाट स्वदेश फिर्ता हुदाँ नेकपाको हाइ कमाण्ड र सरकारका मन्त्री भन्दा माथिल्लो हैसियतमा यिनी एयरपोर्ट पुग्छन ।  यस कारण पनि उनी प्रचण्ड कमरेडका ‘भित्रिया मान्छे’ हुनभन्दा केही असजिलो लाग्दैन  । प्रचण्डको गुह्य कुरा यिनलाई र यिनको गुह्य कुरा प्रचण्ड जानकार छन ।

त्यसैले अस्ति पत्रकार सम्मेलन गरेर यिनले जे भने त्यो प्रचन्डको जानकारीमा नै आएको हो । तसर्थ २० करोड रुपैंयाँ घूस मागेको कुरा प्रतिसोध र सार्वजनिक खपतको लागि बोलेका होइनन् सत्य बोलेका हुन् । यिनको सत्य मात्र होइन पीडा मिश्रित अभिव्यक्ति पनि हो । कुनै पनि काम गराउन सजिलो छैन घूस दिनुपर्छ घूस बिना काम आफ्नै मान्छेबाट पनि सम्भव हुँदैन भन्ने उदाहरण दुर्गाले अभिव्यक्त गरेको यथार्थ हो ।

चिकित्सा शिक्षा आयोगमा भर्खर मात्र सरकारले आफ्नो फेवरको मान्छे नियुक्त गरेका डाक्टर श्रीकृष्ण गिरी जसले प्रसाईं जस्ता ओली र प्रचण्डका किचेन क्याबिनेटका मान्छेसँग किन घूसा माग्ने दुस्प्रयास गरे ? कारण हो उनी सम्बन्धन पर्खेका मेडिकल कलेज र बिभिन्न स्वास्थ्य सेवाका निकायहरुसँग रकम असुल्ने सर्तमा नै चिसिआ पुगेका हुन । पैसाको बिटो जसले बुझाउन सक्छ जतिधेरै उसले नै अवसर पाउने चर्चा त्यतिकै चलेको होइन ।

बिभिन्न विश्वविद्यालयहरु जहाँ भीसी, रेक्टर रजिस्टर र क्याम्पस प्रमुखहरु पनि मोल बढाबढमा नियुक्त गरिन्छन । सरकारले नियुक्त गर्ने हर पद लिलामीमा रहेको कुरा बौद्धिक र प्राज्ञिकहरुले सँधै बहसमा ल्याएको विषय हो । बिभिन्न संबैधानिक नियुक्तिदेखि प्रहरी नेतृत्व अनि उच्च पदस्त कर्मचारी समेत प्रमोशनको लागि ब्रिकफेस बुझाएर हुने गरेको निरन्तरता अहिले पनि भंग हुने सकेन । क्रमभंग गर्नेहरुले अनुशासन र नैतिकताको क्रमभंग गर्न सके तर अन्याय बेथिति, अत्याचार र विभेदको क्रमभंग गर्न सकेनन । हाम्रो राजनीतिको बिडम्बना यही भयो । ब्यबस्थामा क्रमभंग तर अवस्था नियत र नियतिको क्रमभंग हुन सकेन मात्रै होइन नसक्ने करिब करिब पक्का नै भयो ।

सत्तासीन पार्टीको प्रभावसाली उद्यमी घूस दिनुपर्ने र घूस दिएर मात्रै काम गराउने अवस्थामा छन् भने पहुँचबिहिनहरुको हालत यो देशमा के होला ? नियम बिधि र प्रक्रिया अनि बस्तावाकिताको पक्षमा बोल्दा विष खानु कि आत्मसमर्पण गर्नुको स्थितिमा राजेन्द्र पाण्डे, पशुपति चौलागाई, अस्टलक्ष्मी शाक्यहरु पुग्छन भने अरुको अवस्था कति दारुण र कारुणिक होला ।

बलियो सत्ताले आफ्नालाई समेत ‘मरौं–मरौं कि पलायन बनौं’को स्थितिमा पुर्‍याउन लाग्यो भने देश कुन लय र धारमा हिंडदैछ सबैलाई मालुम छ । भीम रावल एक्लो प्रतिपक्षी बनेर कतिन्जेल सत्ताको मनपरीलाई खबरदारी गरिरहन सक्छन ? यहाँ अन्याय कमरेड दुर्गा प्रसाईंलाई पनि भएको छ । २०–३० लाख देखि एक करोडसम्म भएको भए त्यो मामुली रकम थियो । तर २०/२० करोड चै तिर्न आफ्नै सरकार भएको बेला महाभारत नै नहोस किन ? एक करोडसम्म सजिलै तिरेर काम गराउनुको मतलव हो कानुनी प्रक्रिया पुग्नेगरी उनको कलेज सम्बन्धन पाउन लायक छैन । हुनत हरेक विषय र शैक्षिक क्षेत्र संवेदनशील र गम्भीरतापूर्व  हेरिने विषय हो । त्यो भन्दा पनि पर मान्छेको शरीर त्यसमा लाग्ने रोगको विषयमा पढ्ने मेडिकल कलेज अत्यावश्यक मापदण्ड बिना नै सन्चालन हुन्छन भने त्यो भन्दा महाभूल र घृणित कार्य के हुन सक्छ सरकारको ?

मान्छेको रोगबिमार खेलाची र ख्याल ख्यालको विषय हो ? किन स्वास्थ्य शिक्षा, स्वास्थ्य उपचार जस्तो संवेदनशील पक्षमा असंवेदनशील बन्दैछौ हामी ?  दुर्गा प्रसाईंले सजिलै तिर्न चाहेको एक करोड रुपैंयाँ घूस भित्रको रहस्य के हो ? कुनैपनि संस्थानमा घुस दिएर आफ्नो काम गर्नु भनेको कि छिटो काम सम्पन्न गर्न कि नाजायज तरिकाले काम सम्पन्न गर्न घूसको सहारा लिने गरेको पाइन्छ । दुर्गा प्रसाईं जति हैसियत र पहुच भएको मान्छेलाई निश्चय नै छिटो काम गराउन घूस दिनुपर्ने बाध्यता परेन । उनले नाजायज काम गरौँ कै लागि त्यत्रो रकम सहर्ष दिन मन्जुरी गरेका हुन ।

आफुले नियुक्त गरेका चिसिआ प्रमुखले २० करोड घुष मागेको जानकारी भएर पनि प्रचण्ड र ओली चुपचाप बस्नुको अर्थ के हो ? भ्रस्टाचार गर्नेको मुख नहेर्ने प्रधानमन्त्री, घूस दिनेलाई अंगालो हालेर कतिन्जेल संरक्षण प्रदान गर्छन ? यतीमा भएको नीतिगत भ्रष्टाचारले पार्टीलाई गर्दैगरेको खतीको हिसाब गर्ने एकाउन्टेन्ट शायद अब नयाँ नियुक्त गर्नु नेकपाले जति ढिला गर्यो हानीको मात्रा उतिनै बढी हुने निश्चित छ । आफ्ना पक्षका दुवै घूस माग्ने डाक्टर श्री कृष्ण गिरी र घूस दिने या दिन्छु भन्ने दुर्गा प्रसाईंको बारेमा सरकारी फैसला मिलापत्रमा टुंगिन्छ कि ? यसले कुनै निचोड निकाल्छ । भ्रष्टाचारको मूल जरो समात्छ । त्यो हेर्न लायक परिदृश्य बन्नेछ ।

यहाँ दुई जनाको आरोप प्रत्यारोपको कुरा मात्रै छैन प्रसाईंले शिक्षामन्त्री गिरिराजमणि र नेकपाका प्रवक्ता राष्ट्रिय सभाका उमेद्वार नारायणकाजी सुद्दता माथि पनि हिलो फालेका छन् । अझ रोचक र शरम लाग्ने कुरा त प्रधानमन्त्री र कार्यकारी अध्यक्ष प्रचण्डले समेत एक महिना अघिनै घूस मागेको कुरा थाहा पाएका थिए । एक महिनासम्म प्रचण्ड र ओलीको मौनताको अर्थ के हुन्छ ? हुनत अहिले पनि ओली र प्रचण्डबाट आफ्नो प्रिय मान्छेले बकेको सत्य तथ्य बारे स्पष्टीकरण प्राप्त भएको छैन । अब हुन्छ के ?

मैंले एक करोडसम्म घूस दिन्छु भनेर हाकाहाक्की भन्ने व्यक्तिलाई कारवाही गर्न कुन कानुन र प्रमाण जुटाउनु आवश्यक पर्छ ? बोली र कबोल जाबो प्रमाण हुने भए जोगिने मान्छे कमै हुन्थे । निराधार कपोलकल्पित आरोपमा प्रसाई दण्डित हुन्छन । या श्रीकृष्ण गिरीले घुष मागेको कुरा प्रमाणित हुन्छ ? गिरी मानहानीको मुद्दा बोकेर अदालत पुग्छन कि ? नहुनु जे भै हाल्यो अब भित्रभित्रै लेनदेन थपघटमा कुरा सामसुम हुन्छ । प्रधानमन्त्री र अध्यक्ष ओलीले यो कुरा थाहा पाउनुको मतलब भ्रष्टाचा।रमा संलग्नता किन नभन्ने ? दोषी त यहाँ पक्कै कोही न कोही छ । दुवै वच्न र नेताको नैतिकता जोगाउन मिलापत्र र आवेसको आरोपको नाटक मन्चन हुने खतरा पनि त्यतिकै छ । तर यहाँ एउटा गम्भीर र नैतिक प्रश्न उठ्छ । नैतिकता भन्ने कुरा न रह्यो देखाउने बाध्यता र अवस्था रहेन, छैन तर भन्न चैं किन छोड्नु र नैतिकता देखाऊ ।

सार्वजनिक पद ग्रहण गरेको मान्छेले मिलापत्रको नाटक र भुल सुधार भनेर क्षमायाचना गरेर दोष मुक्त भयौं । सबैलाई बनायौं भनेर छुटकारा पाउन सकिएला ? कति मान्छेले यो पत्याउलान ? कतिले क्षमा देलान ? दुर्गा पर्साईहरुलाई च्याप्दा कस्तो हर्कत र कर्मको साक्षी बस्नुपर्छ प्रधानमन्त्रीले हेक्का राख्नु पर्ला कि नपर्ला ? कि सबैकुरा सबैलाई थाह छ–‘हामी यस्तै त हो नी ब्रो को’  भाकामा यो टर्ला । पटाक्षेप होला ओली यूग किन यति धेरै बिबादित र दुर्गन्धित बनाउँदैछन कार्यकर्ताहरुले ? नेताहरुलाई दुर्गा प्रसाईं जस्ता कार्यकर्ताहरुको यो हर्कत दुर्गन्धित लाग्छ कि सुगन्धित ?