
मालती घोरासैनी
काठमाडौं । ३५ वर्षदेखि पुष्प व्यवसाय गर्दै आउनुभएका इलामको पशुपतिनगरका लकिचन्द्रकान गुप्ता ७५ वर्षका हुनुभयो । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा उहाँको नर्सरी छ ।
आयातित मौसमी फूल स्थानीय फूलको तुलनामा महंगो हुने उहाँ बताउनुहुन्छ । नेपाली बजारमा फूलको माग अत्यधिक भए पनि सरकारले पुष्प व्यवसायलाई खासै ध्यान नदिएको उहाँको गुनासो छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार तथा छठ नजिकिँदै जाँदा फूलको माग आकासिएको छ । जसले गर्दा फूल पसलहरूमा उपभोक्ताको भीड लागेको छ । तर, उपभोक्ताले प्रत्येक वर्ष गर्ने गुनासो यसपटक पनि दोहोरिएको छ । उनीहरू गत वर्षको तुलनामा फूलको मूल्य बढेको बताउँछन् ।
नेपाली बजारमा न्यूनतम् ४० रुपैयाँदेखि डेढलाखसम्मका फूल उपलब्ध हुन्छन् । चाडपर्व, शुभकार्य र अन्य प्रयोजनमा फूलको विशेष महत्व हुन्छ । तिहारमा विशेषगरी गोदावरी, सयपत्री र मखमली फूलको अत्याधिक माग हुने फ्लोरिकल्चर एशोसियसन नेपालका कोषाध्यक्ष रामबहादुर तामाङ बताउनुहुन्छ ।
नेपालमा वर्षेनी फूलको माग बढ्दै गएको छ । नेपालमा फूल व्यवसायका लागि उचित वातावरण भए पनि सरकारले पर्याप्त ध्यान दिन नसक्दा मुलुक फूलमा आत्मनिर्भर बन्न नसकेको सरोकारवालाको भनाइ छ ।
कृषिप्रधान मुलुकमा फूलसमेत महंगो मूल्यमा आयात गर्नुपर्ने अवस्थाका कारण उपभोक्ताले वर्षेनी चर्को मूल्य तिरेर फूल किन्न बाध्य छन् । स्वदेशमै कृषक र व्यवसायीलाई प्रोत्साहन गर्न देश फूलमा आत्मनिर्भर बन्ने थियाे ।
प्रतिक्रिया दिनुहोस्