
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेलगत्तै सञ्चारकर्मीसँग बोल्दै राईले आफू नेतृत्वको सरकारले प्रदेशको नामाकरण गर्ने बताउनुभयो । उहाँले भन्नभुयो, ‘हाम्रो प्राथमिकता नै नाम राख्ने र थप काम गर्ने हो ।’
राईले गठबन्धनको सरकार भएको हुँदा मन्त्रालयको संख्या बढाउने बताउनुभयो । मन्त्रालयको संख्या बढाएरै भए पनि सरकारलाई राम्रोसँग हाँक्ने उहाँको भनाइ छ ।
नवनियुक्त मुख्यमन्त्री राईले कात्तिक २३ वा २५ गतेसम्म विश्वासको मत लिइसक्ने बताउनुभयो ।
राईले सुरुवातमा छ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएकाे छ । सत्तासाझेदार दलहरू नेपाली कांग्रेसले २, नेकपा (माओवादी केन्द्र) ले १, जनता समाजवादीले १ मन्त्री पाएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एउटा राज्यमन्त्री दिइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले पाउँदा नेपाली कांग्रेसका हिमाल कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने हुनुभएकाे छ ।
यस्तै, कांग्रेसकै केदार कार्कीले आन्तरिक मामिला तथा कानून मन्त्रालय सम्हाल्दा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी जसपा संसदीय दलका नेता जयराम यादवले पाउनुभएको छ । लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाङ्फेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्