
बैतडी । जिल्ला अदालतले व्यापारी कमल महराको हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सोमबार भएको थुनछेक बहसपछि अदालतले सुर्नया गाउँपालिका–४ का महराको हत्या आरोपमा सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका–४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिशसिंह महरालाई थुनामा राख्न आदेश दिएको हो ।
सुर्नया –४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल गर्दै आएका ५५ वर्षीय महरा असोज ७ गते बिहान सन्सेरीमाडौंमै मृत फेला परेका थिए ।
मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकोले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो ।
घटनापश्चात अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले उनीहरूलाई असोज ८ गते पक्राउ गरिएको थियो ।
असोज ६ गते राति मदिरा सेवन गरी फलामको रड प्रयोग गरेर कमलसिंहको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्