
काठमाडौं । कोरोना भाइरस अर्थात् कोभिड–१९को प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारीको शुभारम्भ गरिएको छ ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको हो । कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने गरी तयार गरिएको सिकाइ चौतारीको शुभारम्भ गरिएको हो ।
सिकाइ चौतारीको शुभारम्भ गर्दै मन्त्री पौडेलले ग्रामीण भेग र दुरदराजका विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई सहज, सरल र ग्रहणशील बनाउँदै लैजानुपर्ने बताउनुभयो । शहरमा प्रविधिको विकास भइसकेको भन्दै उहाँले गाउँका विद्यार्थीका लागि सिकाइ चौतारी कार्यक्रम केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पौडेलले चौतारीबाट सिकेका कुरालाई परिपक्वताका साथ अघि बढाउन थप आकर्षक एवं पठनशील बनाउनुपर्ने बताउनुभयो । भिडियोको प्रस्तुति रोचक र आकर्षक भएमात्रै विद्यार्थी सिकाइका लागि चासो दिने भएकाले त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्य पुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्