२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गर्ने अध्यक्ष दाहालको चेतावनी


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा बिहिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले जनताको पक्षमा काम नगर्ने मन्त्रीहरूलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

उहाँले पार्टीमा जतिसुकै ठूलो पद भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा कदम चाल्ने प्रष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले देशी, विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको दावी गर्नुभयो । उहाँले पार्टी फुटेर चार टुक्रा भए पनि आफ्नो नेतृत्वमा आगामी दिनमा माओवादी झन् जागेर आउने देखेर तारो बनाउन खोजेको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी चुनावमा माओवादी पार्टी पहिलो शक्ति बन्ने दावी गर्नुभयो । माओवादी बलियो नभए राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उहाँको भनाइ छ ।