४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


स्रोत साधनको उचित व्यवस्थापन गर्न नसक्दा देशले गरिबी व्यहोर्नुपर्‍यो : अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वर्तमान सरकार स्रोत तथा साधनको परिचालनमा लागि परेको बताउनुभयो । उहाँले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेले जनताको शासक नभई सेवकका रूपमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।

‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ, तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्ने जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।’

मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताउनुभयो । उहाँका अनुसार मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरेक नागरिकले संकल्प गर्नुपर्छ ।

उहाँले बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्नेसमेत दाबी गर्नुभयो । व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गर्नुभयो ।