१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एमसिसीबारे सत्य बोल्न डराउनु हुँदैन : डा. महत


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अमेरिकी अनुदानमा आधारित एमसिसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताउनुभएको छ ।

विर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले एमसिसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बोल्न डराउने गरेको उल्लेख गर्नुभयो ।

भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई वर्षेनी अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने बताउनुभयो । सबै मित्रराष्ट्रसँगको परराष्ट्र नीति समान हुनुपर्नेमा उहाँको जोड थियो ।

एमसिसीमार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको उहाँले स्पष्ट पार्नुभयो । विद्युतीय ट्रान्समिसन लाइन, सडक जस्ता महत्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने नेता महतको धारणा थियो ।

विदेशी सेना आउने, विदेशको कानून लागू हुने, सार्वभौमसत्ता सङ्कटमा पर्ने जस्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसिसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरुले आँट गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेता महतले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानका बारेमा खुलस्त रुपमा छलफल भएको जानकारी दिनुभयो । केपी ओली नेतृत्वको सरकारका पालामा भारतसँगका सम्झौताका विषयमा प्रष्ट कुरा र अडान राख्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उहाँले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविकरुपमा निम्तिने बताउनुभयो ।

‘राज्यका सबै अङ्ग स्वतन्त्र छन्, एउटाले आफ्नो समस्या समाधान गर्न सकेन र राज्य व्यवस्थामै अप्ठ्यारो अवस्था सिर्जना भएमा अर्को अङ्गको हस्तक्षेप अपरिहार्य हुन्छ’, उहाँले भन्नुभयो ।