
काठमाडौं । वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाले नेपालमा तीन किसिमका मान्छेले न्याय नपाउने बताउनुभएको छ ।
ईमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’मा कुरा गर्दै डा. संग्रौलाले तीन किसिमका मान्छेले अहिले न्याय नपाउने बताउनुभयो ।
‘तपाईं र मलाई कसैले अन्याय गर्यो भने फैसला नभइ हामी मर्छौं, तीन थरीका मान्छेले अहिले न्याय पाउँदैनन्,’ उहाँले भन्नुभयो, ‘इमान्दार, गरिब र किसानले न्याय पाउँदैन, जतिसुकै धनी किसान भए पनि उसले न्याय पाउँदैन ।’
पूर्वमहान्यायाधिवक्तासमेत रहेका डा. संग्रौलाले पछिल्लो समय अदालतमा व्यक्तिका मुद्दाले कहिल्यै प्राथमिकता नपाएको बताउनुभयो । धनी र करवालाका मुद्दा हेर्नका लागि मात्र भनेर कमर्सियल इजलास गठन भएको अदालतमा सामान्य नागरिकको मुद्दाले कहिल्यै प्राथमिकता नपाएकोमा दुःख व्यक्त गर्नुभयो ।
‘सामाजिक न्यायको परिकल्पना गरेर संविधान निर्माण भएको हो,’ उहाँले भन्नुभयो, ‘तर, अहिलेको अवस्थामा न्यायालयमा सामाजिक न्याय पाउनै छाडियो ।’
२०६३ सालपछि राजनीतिक पार्टीको गोजीबाट न्यायाधीश नियुक्त हुन थालेसँगै अदालतको साख गिर्दै गएको वरिष्ठ अधिवक्ता डा. संग्रौलाले बताउनुभयो । धनी र बाहिर समाजमा देखिए पनि न्यायालयमा समान पहुँचको न्याय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रधानन्यायाधीशले अदालतप्रति गिरेको नागरिकको आस्था र साखलाई उठाउनुपर्नेमा त्यसो हुन नसकेको उहाँले बताउनुभयो । अहिलेको अवस्थामा न्याय भन्ने कुरा कुन चराको नाम हो भन्ने पनि आफूलाई थाहा नभएको उहाँको भनाइ छ ।
‘अहिले न्याय भन्ने कुनै चरीको नाम छैन, गरिबजति जेलमा छन्, धनीजति सबै बाहिर छन्,’ उहाँले भन्नुभयो, ‘बकाइदाको प्रमाण भएको मुद्दामा रञ्जन कोइरालाजी छुट्नुभो, उहाँलाई ठेक्कै लाग्यो ।’
डा. संग्रौलाले एकपटक सर्वोच्चमा भएका सम्पूर्ण न्यायाधीश नहटाएसम्म न्यायालयमा शुद्धता र निश्पक्षता नआउने बताउनुभयो । राजनीतिक दलका कोटाबाट आएका न्यायाधीशबाट पूर्ण रूपमा स्वच्छ न्यायाको आश गर्न नसिकने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्