
पलिस्था रञ्जितकार
भक्तपुर । भक्तपुरको बाटोबाटोमा तिहारमा प्रयोग हुने विभिन्न सामग्रीहरु बेच्ने व्यापारीहरुको संख्या बढेको छ । तिहारको भाइटिकामा प्रयोग हुने सप्तररङ्गी टिकादेखि रङ्गोली बनाउन प्रयोग हुने विभिन्न रङ्गहरु व्यापारीहरुले बेच्दै आएका छन् ।
अहिले भक्तपुरको तौमडी बँशगोपाल र दतात्रयलगायतका ठाउँहरुमा तिहारको लक्ष्मीपुजादेखि भाइटिकासम्म आवश्यक हुने सरसामानहरु बेच्न व्यापारीहरुको लर्को छ । सानो लगानीमा भाडा पनि तिर्न नपरेकाले व्यापारीहरुले यो बेला व्यापार गर्न रुचाउँछन् । ८८ वर्षीय शिवजी हाडा ८० वर्षदेखि तिहारका लागि सामग्रीहरु बेच्दै आएका छन् ।
आफु ८ वर्ष हुँदादेखि अहिलेसम्म एउटै ठाउँमा व्यापार गर्दै आएको उनी बताउँछन् । ८० बर्ष अगाडि २ पैसा पर्ने सामानको मुल्य अहिले ६५ रुपैँया पुग्दाखेरी समय निकै परिवर्तन भएपनि बाल्यकालदेखि गर्दै आएको कामलाई निरन्तरता दिन पाउँदा खुशी लाग्ने उनी बताउँछन् ।
तौमडीमै तिहारको अवसरमा रङ्ग र मसलाका प्याकेटहरु बेच्ने सुरेश गुप्ता आफ्नो पसलको ठाउँ सुरक्षित राख्न आफुले दिनभर व्यापार गरिसकेपछि राती त्यही स्थानमा ओछ्र्यान लगाएर सुत्ने र बिहान फेरी व्यापार गर्न उठ्ने गरेको बताउँछन् ।
ठेलामा सामान बेच्ने वरुण शाह पनि तिहारको सामानहरु यसप्रकार बेच्दा दैनिक लगभग दुई हजारको व्यापार गर्ने गरेको बताउँछन् । तिहारको समयमा फुटकर व्यापारीको लर्कोले मौकामा व्यापार गर्न तत्पर भएका धेरै मिहेनती हातहरुसँग साक्षात्कार गराएको छ ।
प्रतिक्रिया दिनुहोस्