
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको जिकिर गर्नुभएको छ ।
जलवायु सम्बन्धी अन्र्तराष्ट्रिय सम्मलेनबाट भाग लिएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफु र माओवादी केन्द्रका अध्यक्ष दाहालले हस्ताक्षर गरेर पठाईसकेको बताउनु भएको थियो ।
प्रधानमन्त्रीको उक्त दावीको खण्ड्न गर्दै सत्तारुढ दलको एक घटक माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पास गर्ने भनेर कुनै चिठी नपठाएको जिकिर गर्नुभएको हो ।
देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आएका कलाकारको प्रस्तुतिपछि प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सहमति नभई यथास्थितिमा पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर अमेरिकालाई चिठी भने पठाएको दावी गर्नुभयो ।
एमसीसी पास गर्ने सम्बन्धमा समय मागेको तर पास गर्छौ भनेर चिठी नलेखेको जिकिर गर्दै अध्यक्ष दाहालले संशोधन नगरी एमसीसी पास नहुने बताउनुभयो ।
अध्यक्ष दाहालले एमसीसी सम्झौता गर्दा सुरुमा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नरहेको तर पछि केही प्रावधान थपिँदा प्रश्न उठेको टिप्पणी गर्नुभयो ।
अमेरिका,बेलायत वा अन्य कुनैपनि मुलुकले दिने अनुदान सहयोग लिनु स्वभाविक भएको भन्दै दाहालले एमसीसी सम्झौताको सुरुको सहमतिमा डराउनुपर्ने कुरा नभएको जिकिर गर्नुभयो ।एक अर्को प्रशंगमा अध्यक्ष दाहालले गठबन्धन सरकारले नै चुनाव गर्ने र सकेसम्म तालमेल गरेरै चुनावमा जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्