
काठमाडौं । तीन महिनाको अवधिमा जिल्ला अदालत पर्साबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको हो । प्रहरीले गएको साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताउनुभयो ।
उनीहरूबाट एक करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
गत आर्थिक वर्षमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो ।उनीहरूबाट ७१ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्