
एजेन्सी । सवैभन्दा पहिले कोरोना खोप बनाएको जर्मन कम्पनी फाइजरले आफूले बनाएको कोरोना विरुद्धको औषधी पनि निकै प्रभावकारी देखिएको बताएको छ ।
कोरोना विरुद्धको एन्टी भाइरल औषधीको प्रयोगले अस्पताल भर्ना हुनुपर्ने तथा मृत्यु दर ९० प्रतिशत कम गरेको बताएको हो । ७ सय ७५ जनामा औषधी प्रयोग गरेको फाइजर कम्पनीको औषधी खाएकाहरुमा एक महिनापछि अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने खतरा ८९ प्रतिशत कम पाइएको जनाएको हो ।
फाइजरका वैज्ञानिक अधिकृत माइकल डोल्स्टेनले कोरोनाबाट हुने मृत्युको खतरालाई शत प्रतिशत जोगाउने र आम रुपमा ९० प्रतिशत प्रभावकारी औषधी बनाउन सफल भएको दाबी गरेका छन् ।
कोरोनाको खोप नलगाएका तर अस्पताल भर्ना गर्नुपर्ने गरी कोरोना संक्रमणको लक्षण भेटिएका मुटु तथा चिनी रोगीहरुमा फाइजरको औषधी प्रयोग गरिएको जनाइएको छ ।
संक्रमणको लक्षण देखिएको ३ देखि ५ दिनपछि औषधी खुवाउन शुरु गरिएको र ५ दिनसम्म औषधी खुवाइएको पनि कम्पनीले जनाएको छ । संक्रमण भएको ३ दिनभित्रै औषधी खुवाइएका मध्ये १ प्रतिशत भन्दा कमलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको र औषधी लिएको २८ दिनसम्म एक जनाको पनि मृत्यु नभएको पनि कम्पनीको दाबी छ ।
ढिलो उपचार शुरु गरिएकाहरु मध्ये ७ प्रतिशतलाई अस्पताल भर्ना गर्नुपरेको र सातै जनाको मृत्यु भएको भनाइ कम्पनीको छ । कम्पनीले ट्रायलको सवै कागजात अमेरिकी खाद्य तथा औषधी विभागलाई उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्