
एजेन्सी । पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार सिअरा लियोनको राजधानी फ्रिटाउन नजिकै व्यस्त बजारमा इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ९१ जना मारिएका हुन । अन्य थुप्रै गम्भीर घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
इन्धन भरिएको ४० फिट लामो ट्यांकर अर्को एक ट्रकसँग जुध्दा उक्त घटना भएको हो । सिअरा लियोनका राष्ट्रिय विपत्ति ब्यवस्थापन एजेन्सीका सूचना अधिकारी मोहमद लाम्राने बहले घटनास्थलमा उद्धार कार्य जारी रहेको बताएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय मिडियाहरुले ट्याङ्कर वरपरका सडकहरूमा नराम्ररी जलेको शवहरू देखाएका छन् । राष्ट्रपति जुलियस माडा बायोले एक ट्वीट गर्दै जीवनको भयावह क्षतिले आफु विचलित भएको बताउनु भएको छ । उहाँले पीडित परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्