१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दसैँ तिहारमा च्याङ्ग्रा बेचेर मुस्ताङले भित्र्यायो ३५ करोड रुपैयाँ

गत वर्षभन्दा च्याङ्ग्राको निकासी आधाले कम

0
Shares

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङले यसपालीको दशैं तिहारमा मात्रै च्याङ्ग्रा बेचेर ३५ करोड रुपैयाँ जिल्लामा भित्र्याएको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडा च्याङ्ग्राको माग दशैं र तिहारमा उच्च हुने गर्दछ ।

औसतमा प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा जिल्लाबाट बाहिर गएको र विक्रीबाट पशुपालक कृषकले ३५ करोड रुपैयाँ आम्दानी गरेको मुस्ताङ जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख दण्डपाणी सापकोटा अनुसार मुस्ताङबाट दसैँमा सात हजार र तिहारमा तीन हजार च्याङग्रा निकासी भएका थिए । स्वास्थ्य परीक्षण गरिएका च्याङग्रा कृषकले खोरबाटै प्रतिगोटा ३५ हजारका दरले बेचेको पनि सापकोटाले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा २५ हजार जति च्याङ्ग्रा निकासी हुदै आएकोमा यो वर्ष तिब्बतबाट च्याङ्ग्रा नआउँदा निकासी कम भएको र मूल्य पनि बढी परेको हो । यो वर्ष जिल्लाभित्रकै किसानले पालेका च्याङ्ग्रा मात्रै विक्री गरिएको पनि पनि सापकोटाले बताउनुभयो ।

तर ब्यापारीहरुले सही विवरण नदिने भएकाले यकिन तथ्यांक राख्न कठीन हुने गरेको पनि उहाँले बताउनुभयो । जिल्ला भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको र प्रति गोटा १५ रुपैयाँ शुल्क लिएर परीक्षण गरिएको थियो ।

मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानमा ब्यापक रुपमा च्याङ्ग्रा पालन हुने गर्दछ । च्याङ्ग्रा करीब ५ वर्षमा विक्रीयोग्य हुने गर्दछ । गण्डकी प्रदेश सरकारले मुस्ताङमा च्याङ्ग्रापालनका लागि अनुदानको व्यवस्था मिलाए पनि ब्यवस्थित र वृहत् रुपमा च्याङ्ग्रा पालन हुन सकेको छैन ।