२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


छठलगत्तै कांग्रेसको १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन हुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने भएको छ । गत भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश–२ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन सुरू नै गर्न सकेको छैन ।

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन नै गरेको छैन । रसुवा र रौतहटमा अझै क्रियाशील सदस्यता विवाद कायमै छ ।

यही कात्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ । यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ ।

साथै २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ भने बाँकी ८ जिल्लामा पनि छठलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ । हिमाली जिल्लामा अधिवेशन गराउनका लागि निर्वाचन अधिकृत तोकिइसकेका छन् ।

कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भनेको छ । त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न तहमा रहेका पार्टी संरचनाका लागि अधिवेशन हुनेछन् । कांग्रेसले पटकपटक महाधिवेशनको मिति सार्दै आएको छ । अब तोकिएकै समयमा महाधिवेशन हुने सभापति शेरबहादुर देउवा बताउँदै आउनुभएको छ ।