१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दार्चुला तिंकरको प्रहरी छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन


0
Shares

काठमाडौं । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।

स्थानीयबासी बसाइँ नसर्दै प्रहरी चिसो छल्न छांगरु झरेको हो । हिमपातका कारण अत्यधिक जाडो बढेपछि प्रहरी छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् ।

त्यहाँका स्थानीयवासी आगामी मङ्सिर पहिलो सातामात्रै सदरमुकाम खलङ्गा बसाइसराइ गर्ने तयारी भएको व्याँस गाउँपालिका–१ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिनु भयो ।

तिंकरमा रहेका प्रहरी जाडोयाममा वर्षेनी नजिकका अन्य युनिटमा सर्ने गर्छन् । अहिले प्रहरीका लागि छांगरु नीतिकुण्डमा पक्की भवन निर्माण गर्न सुरु गरिएको छ । स्थानीयवासी छ महिना चिसो छल्न सदरमुकाम खलङ्गा र छ महिना गर्मी छल्न व्याँसको छांगरु तिंकर उक्लिने गर्छन् । उनीहरू नेपालतिर आउन बाटो नभएपछि हरेकपटक भारतीय बाटो हुँदै बसाइसराइ गर्ने गरेका छन् ।