
एजेन्सी । युरोपीयन फुटबल क्लबहरुमा यतिवेला प्रशिक्षकहरुको अदालबदली चलिरहेको छ । युरोपका घरेलु लिग सिजनमा एक तिहाइ खेलहरु सकिंदा थुप्रै क्लबले प्रशिक्षक फेरी सकेका छन् ।
पछिल्लो पटक इंग्लीश फुटबल क्लब न्युकासल युनाइटेडले एडी होवेलाई प्रशिक्षक नियुक्त गरेको छ । पूर्व बर्नमाउथ प्रशिक्षक होवेले क्लबलाई रेलीगेशनबाट बचाउने प्रयास गर्नेछन् । न्युकासाल युनाइटेड अहिले लिग तालिकाको १९ औं स्थानमा रहेको छ ।
पुछारमा रहेको नरिच सिटी र न्युकासलको समान ५–५ अंक छ । न्युकासल युनाइटेडसँगै इंग्ल्याण्डका अन्य चारवटा प्रिमियर क्लबका प्रशिक्षकले पनि सिजनको पहिलो हाफमै जागिर गुमाइसकेका छन् ।
यो सिजनमा क्लबबाट बर्खास्तीमा पर्ने प्रशिक्षकहरुमा वाट्फोर्डका जिस्को मुनोज, न्युकासलका स्टिभ ब्रुस, टोटनह्यामका नुनो इस्पीरितो सान्तो, नरिच सिटीका ड्यानियल फार्के र एस्टन भिल्लाका डिन स्मिथ रहेका छन् ।
उता स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक जाभीले आजबाट आफ्नो जिम्मेवारी समाल्दैछन् । रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि बार्साले क्लबकै पूर्व हस्ती जाभीलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो । बार्सिलोना हाल स्पेनिस लिग फुटबलको नवौं स्थानमा रहेको छ । टोलीलाई उपाधि दावेदारीमा फर्काउन जाभीले निकै कठिन परिस्थीतीको सामना गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्