२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाँचथरको थाक्ले मन्दिर पर्यटकको पर्खाइमा


273
Shares

प्रकाश नेपाल

थाक्ले पाँचथर । पर्यटकीय तथा धार्मिक हिसाबले महत्ब बोकेको पाँचथरको थाक्ले मन्दिर यतिबेला पर्यटकको पर्खाइमा छ । जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्र तथा पर्यटकीय क्षेत्र रहेको थाक्ले उचित प्रचारप्रसार हुन नसक्दा गुम्नाम जस्तै बनेको छ । पाँचथर सदरमुकाम फिदिमदेखि करीब ७ किलोमीटर दूरीमा अवस्थित थाक्ले मन्दिरको आफ्नै पुरातात्विक एवं धार्मिक महत्व रहेको छ ।

सदरमुकाम फिदिमबजार बाट मेचीराजमार्गको जोरसाल हुदै पुष्पलाल मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पुगिने थाक्ले मन्दिर क्षेत्रले यतिबेला आन्तरिक तथा बाह्य पर्यटक कुरिरहेको हो । सुसाउदै गरेको तमोर नदिलाई पाउमा राखेर पहाडको थुम्कोमा रहेको उक्त क्षेत्रबाट वरिपरि ग्रमिण बस्ती अनि सदरमुकाम नजिकै नियाल्न सकिन्छ । जिल्लाको फिदिम नगरपालिका ४ मा अबस्थित थाक्ले मन्दिरको छुटै बिशेषता रहेको छ ।

मन्दिरको परिसरमा चट्टानका बिच गुफा समेत रहेको छ । गाउँका बाख्रा हराएर खोज्दै जादा यहि गुफामा हराउने भन्ने थाहापाए पछि त्यो दिन बाट यो ठाउँमा देबिको उपासना हुन थालेको किम्बदन्ती पनि रहेको छ । सूचना प्रविधिको विकास नभएको बेला थाक्लेलाई सूचना दिने ठाँउको रुपमा लिईने गरेको बताईन्छ । यहाँ सिंहदेबिको मन्दिर, महादेव थान रहेको स्थानिय तुङ्गप्रसाद भण्डारीको भनाई छ । धार्मिक महत्व तथा प्राकृतिक रुपमा सुन्दर यो क्षेत्र भित्र कलात्मक ढंगबाट कुदिएका हस्तकलाले अझ यहाँ पुग्ने जो कोहीको मन भुलाईदिने गर्दछ । पछिल्लो समय यहाँका स्थानियले सरकार समक्ष यो क्षेमा बेद पाठशालाको स्थापना गरिनुपर्ने माग राख्न थालेका छन् ।

विक्रम सम्वत १९५४ सालमा निर्मित यस मन्दिर नजिकैसम्म मोटरवाटो सुविधा भएकाले त्यहाँ पुग्न समस्या नभएता पनि पर्यटको संख्या भने खासै देखिदैन । लोक कथन अनुसार विक्रम सम्वत १८०० पछि अस्तित्वमा आएको यस मन्दिर क्षेत्रका ठूला ठूला ढुंगामा फिदिमका रुद्र तुम्रोकले कुँदेका युमा, सिरिजंगा र शिव पार्वती आदिका मुर्तीले मन्दिरको शोभा वढाएको छ । थाक्ने मन्दिरमा मुख्य गरेर धार्मिक हिसावमा हिन्दु धर्मावलम्बीहरुको उपस्थिति हुने गरेको छ । तर पछिल्लो समय थाक्ले क्षेत्रलाई बहुधार्मिक गन्तब्य बनाउने काम भइरहेको छ । यहाँका देबस्थल तथा ऐतिहाँसिक स्थललाई थप प्रचार गर्न सके यहाँ आउने धार्मिक पर्यटकको बृद्धि हुनेमा दुई मत छैन ।