२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नवलपरासीको सुस्तामा हतियारधारी एसएसबीबाट अनधिकृत नापजाँच, भारतीय अतिक्रमण बढ्ने चिन्तामा स्थानीय


13
Shares

हरि शर्मा पश्चिम

नवलपरासी । सुस्तामा भारतीय पक्षले फेरि अतिक्रमणको प्रयास गरेको छ । पछिल्लो पटक भारतीय अर्धसैनिक बल (एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेका हुन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा रहेको नारायणी नदी पारीको गाउँ सुस्ता पटक पटक भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको क्षेत्र हो ।

पछिल्लो पटक गत आइतबार र सोमबार भारतीय एसएसबीका जवानहरु हतियारसहित सुस्तामा पुगेर नापजाँच नै गरेका छन् । जसबाट बाँकी रहेको जमिनसमेत फेरि भारतले खोस्ने हो की भन्ने चिन्तामा सुस्तावासी परेका छन् । अतिक्रमण गर्ने उद्धेश्यले नै भारतीयहरुले बेला बेलामा नापजाँच गर्ने गरेको स्थानीय रविन्द्र जयसवालको भनाइ छ । ६ महिना अघि पनि एसएसबीले सुस्ता क्षेत्रमा ड्रोन चलाएका थिए ।

सुस्ता क्षेत्रमा २०६२ जेठ १७ देखि भारतीयले अतिक्रमण बढाउदै गएका हुन् । अतिक्रमण बढेपछि २०६४ सालमा दुवै देशका जिल्लास्थित सुरक्षाअधिकारीको वार्तामा १९ हजार हेक्टर जमिन कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने सहमति गरिएको थियो । उक्त जमिनको सुस्तावासीसँग लालपुर्जा छ । तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षाअधिकारीहरुले जोतभोग नगर्ने सहमति गरेका थिए । त्यही जमिनमा अहिले एसएसबीले नापजाँच गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

एसएसबीले नापजाँच सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरुको टोलीले सुस्ता क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेको छ । सीमा सुरक्षाका लागि सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट छ । हतियारसहित आएका एसएसबीले गरेको नापजाँचका बारेमा माथिल्लो निकायमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाई छ । सुस्ता कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये १४ हजार हेक्टर जमिन भारतीयले अतिक्रमण गरिसकेको छ । ७ हजार हेक्टर मात्रै नेपालीले भोग चलन गर्दै आएका छन् । नेपाल सरकारले सुस्ताको विवाद समाधान गर्न तत्काल पहल नगर्ने हो भने सुस्ताको बाँकी रहेको जमिन पनि भारतीयको कब्जामा पर्नसक्ने खतरा बढेको छ ।