७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुदूरपश्चिम प्रदेश : दशैंतिहारमा ८१ सवारी दुर्घटना, १८ जनाको मृत्यु


0
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशमा दशैंतिहारको एक महिनामा सवारी दुर्घटनाका ८१ वटा घटना भएका छन् ।

गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ सवारी सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर प्रदेशभर एक सय १३ जना घाइते भएका छन् ।

दुर्घटनामध्ये सबैभन्दा बढी ४९ वटा मोटरसाइकल, १४ वटा जीपकार, चार वटा टेम्पो, तीन वटा ट्याक्टर, दुई वटा बस र बाँकी अन्य सवारी साधन रहेको छ । चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको पाइएको छ ।

साना सवारी चालकले लापर्वाही ढङ्गले सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, सडक साघुँरा र खाल्डाखुल्डी पनि दुर्घटनाको कारण बन्ने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख,प्रहरी उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

यसका साथै चाडपर्वको बेला समयमा गन्तव्यमा समयमै पुग्न हतारो हुने र यातायात सञ्चालकले पनि जथाभावी यात्रु चढाउने, सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने, हतारोका कारण सवारीको प्राविधिक अवस्था नजाच्नेजस्ता कारणले दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।