१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विकल्पविहीन अवस्थामा कांग्रेस

निर्वाचनमा सहभागी हुन मंसिरमै महाधिवेशन सक्नुपर्ने बाध्यता

0
Shares

अक्कल कुँवर
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिमार्फत परिवर्तन गरेको १४ औं महाधिवेशनको कार्यतालिका २८ गते बस्ने केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी गरेको छ ।

पटक–पटक पर सर्दै आएको महाधिवेशनको कार्यतालिका पछिल्लो पटक मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको मितिमा पनि सम्पन्न हुनेमा आशंका बढेको छ । राजनीतिक क्षेत्रका जानकारहरू भने कांग्रेस मंसिरभित्रै महाधिवेशन गरिसक्नुपर्ने विकल्पविहिन दबाबमा रहेको टिप्पणी गर्छन् ।

दशैं, तिहार र छठ पर्वका कारण रोकिएको महाधिवेशन प्रक्रिया कार्तिक २७ देखि सुरु गर्ने कांग्रेसको तयारी छ । लामो रस्साकस्सीबीच बल्लबल्ल क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले पछिल्लो कार्यतालिकाले तय गरेको समयमा पनि महाधिवेशन सम्पन्न गर्नेमा अझै आशंका छ ।

महाधिवेशनको मिति सार्ने संवैधानिक र कानुनी बाटा बन्द भईसकेको कारण कांग्रेसलाई मंसिरभित्रै महाधिवेशन गर्नैपर्ने नैतिक र कानुनी दबाब रहेको राजनीतिक विश्लेषक प्रा.डा.गोविन्दमानसिंह कार्की बताउनुहुन्छ ।

आगामी माघ महिनाभित्रै सम्पन्न गरिसक्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचनका कारण पनि कांग्रेसलाई मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने अर्को बाध्यता छ । चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता अनिवार्य छ ।

संविधानको धारा २९६ ले राजनीतिक दलहरूको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था राख्न भनेको छ ।

विशेष परिस्थितिमा ५ वर्षभित्र हुन नसके त्यसको ५ महिना थप गर्न सकिने व्यवस्था संविधानमा छ । संविधानको उक्त व्यवस्था पालना नगरेको दललाई निर्वाचन आयोगले चुनावी प्रयोजनको लागि दल दर्ता गर्न सक्दैन ।

मंसिरभित्र महाधिवेशन सम्पन्न हुन नसके कांग्रेस संविधानको यहि व्यवस्थाको कारण चुनावमा सहभागी हुन नपाउने राजनीतिक विश्लेषक प्रा. पुरुषोत्तम दाहाल बताउनुहुन्छ । कांग्रेसले मंसिर अन्तिम वा पुसको पहिलो साताभित्र नवनिर्वाचित पदाधिकारीहरूको सूची आयोगमा पेश गरिसक्नुपर्ने उहाँको भनाइ छ ।

२०७२ फागुनमा १३ औं महाधिवेशन गरेको कांग्रेसले गत भदौ २३ भित्र महाधिवेशन गर्नुपर्ने थियो । उक्त समयमा महाधिवेशनको प्रक्रिया सुरु गरेर कांग्रेसले वैधानिकता त जोगाएको छ तर, मंसिरभित्र महाधिवेशन सम्पन्न गर्न नसके मुलुककै पुरानो र लोकतान्त्रिक पार्टी आगामी निर्वाचनमा भाग लिन नपाउने खतरा छ ।

त्याे भन्दा पनि जोरीपारी हँसाउने यो भन्दा ठूलो मुद्दा कांग्रेसकै इतिहासमा अरु नहुने पक्का छ ।