१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्राकृतिक प्रकोपको जोखिममा शल्लेश्वर महादेव


13
Shares

टेकराज अवस्थी
डडेल्धुरा । डडेल्धुरा जिल्लाको प्रसिद्ध शक्तिपीठ शल्लेश्वर महादेव मन्दिर, प्राकृतिक प्रकोपको जोखिममा परेको छ ।

जिल्लाको अमरगढी नगरपालिकाका ६ वटा वडा, नवदुर्गा गाउँपालिकाको १ र अजयमेरु गाउँपालिकाको १ वडा गरी प्रत्यक्ष रूपमा करिब ५० गाउँको आस्थाको केन्द्र शल्लेश्वर महादेव मन्दिर तथा आर्यघाट क्षेत्र बाढी र डुबानको जोखिममा परेको हो ।

धार्मिक क्षेत्रमा तटबन्ध, पुल र अन्तिम संस्कार गर्ने व्यवस्थित आर्यघाट नहुँदा स्थानीयले अनेकौं समस्या र जोखिम उठाउनु पर्ने बाध्यता छ । कात्तिकको सुरुवातमा भएको बेमौसमी वर्षाले मन्दिरको अगाडी भाग बगाएको छ ।

मन्दिरको संरक्षण गर्न आर्यघाटमा बसेका पञ्चदर्शनाम मायादेवी भुवनवाला सन्त संरक्षणका लागि सहयोग गर्न आग्रह गर्नुहुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आठ वर्षअगाडि मन्दिर संरक्षणको आश्वासन दिए पनि वास्ता नगरेको स्थानीय कृष्णबहादुर बोहरा बताउनुहुन्छ ।

वडा तथा स्थानीय सरकारबाट संरक्षण तथा पुनःनिर्माणको लागि बजेट सम्भव नभएकाले केन्द्र सरकारलाई सहयोग गर्न अमरगढी–७ का वडाध्यक्ष खडकबहादुर बोहरा आग्रह गर्नुहुन्छ । शक्तिपीठको कारणले मात्र मन्दिर बचेको उहाँले विश्वास छ । मन्दिर संरक्षणका लागि यसपटक पनि प्रयास नभए अर्कोपटक पूर्ण रुपमा क्षति पुग्ने बोहरा बताउनुहुन्छ ।

ठूलो भौगोलिक क्षेत्रबाट बगेर आउने सल्लागडा खोलाका कारण मन्दिर संरक्षणमा चुनौति थपिएको स्थानीय बताउँछन् ।

सन्तान प्राप्ति मनोकामना पूरा हुने र खडेरीको समस्या समाधान हुने स्थानीयको आस्थाको केन्द्र रहेको मन्दिर संरक्षण भए आन्तरिक तथा बाह्य धर्मावलम्बीहरूको आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ ।