१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्तल संरक्षणको माग (भिडियोसहित)

घर न घाटको अवस्थामा मन्दिरका हेरचाहकर्ता

52
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । हाम्रो संस्कृतिमा जन्मदेखि मृत्युसम्मको विशिष्ट संस्कार रहेको छ ।

मृत्युपछि परिवारले गर्ने संस्कार भावनात्मक रुपले झनै महत्वपूर्ण हुन्छ । तर, विकासको नाममा काठमाडौंको डल्लुमा रहेको मृत्यु संस्कार काजकिरिया गर्ने सत्तल संकटमा परेको छ ।

काठमाडौंको डल्लुमा रहेको कलात्मक महाविष्णुको मन्दिर नजिकै विष्णुमतिको दुवै किनारामा घाट र सत्तल छ । मन्दिर अगाडि पनि काजकिरिया गर्ने सत्तल रहेको छ । यसमा २०७२ सालको महाभूकम्पले क्षति पुगेको थियो ।

गुठी संस्थानले टालटुल गरेर मर्मत गरे पनि सत्तलको पुनःनिमार्ण हुन सकेको छैन । अहिले त झन विष्णुमति किनारामा करिडोर निर्माणले सत्तल संकटमा परेको छ ।

स्थानीयको विरोधका बाबजुद स्थानीय तहले बाटो बनाउन खोज्दा घाटको संरचना नष्ट भइसकेको छ । खोलाको किनारमा रहेको सिँढी र तीनवटा भकारी सडक विस्तारमा परेर पुरिएको छ ।

स्थानीय भरत साहीले ऐतिहासिक महत्वको सत्तल र घाटको संरचना नष्ट हुने गरि बाटो बनाउन नदिने बताउनुहुन्छ । विकासको नाममा सम्पदा नष्ट गर्न नपाइने उहाँको भनाइ छ ।

यहाँ अर्को एउटा विडम्वना पनि देखिन्छ । मन्दिर र सत्तलको पुस्तौंदेखि रेखदेख गर्दे आएको परिवारको भूकम्पपछि पालको बास भएको छ ।

तीन जना छोरीसहित लक्ष्मी श्रेष्ठ सत्तल छोडेर मन्दिर परिसरमा पालभित्र बसोवास गर्दै आउनुभएको छ । २४ घण्टा अक्सिजन चाहिने श्रेष्ठ चिसो ठाउँमा बस्न बाध्य हुनुहुन्छ । झन् अहिले सुत्केरी छोरीलाई समेत सम्हाल्न परिरहेको छ ।

चराचर जगतकै पालनकर्ता विष्णु भगवानको मन्दिर हेरचारकर्ता घर न घाटको भएका छन् । मृत्यु संस्कार गर्ने सत्तलको संरक्षण गर्नु सबैको कर्तव्य भए पनि संरक्षणमा कसैले पनि चासो नदेखाएकोमा साही दुःख मान्नुहुन्छ ।

जति नै विकास गरे पनि मानिस अन्तिममा पुग्ने घाट मै हो । त्यसमाथि परिवारजनले काजकिरिया गर्ने ठाउँसमेत बचाउन सकिँदैन भने विकास केका लागि ?

जन्मदेखि मृत्यु सम्मको संस्कारबाट मानवबीच समाजिकरण भइरहेको परम्परालाई बचाउने हो भने यस्ता महत्वपूर्ण घाट र सत्तलहरूको संरक्षण गर्ने दायित्व सबैको हो ।