
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना फिर्ता लैजान अमेरिकालाई आग्रह गर्नुभएको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गौतमले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको उल्लेख गर्नुभएको छ ।
‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न,’ विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसिसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’
एमसिसी सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने आशंका व्यक्त भइरहेको भन्दै उहाँले सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्