१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संघीयतापछिको पहिलो जनगणना आजबाट सुरु, राष्ट्रपतिबाट शुभारम्भ गरिने


0
Shares

काठमाडौं । ‘मेरो गणना मेरो सहभागिता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनजणना सुरु हुँदैछ । हरेक १० वर्षमा गरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक हुन लागेको हो ।

बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । त्यसपछि उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण लिइने छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाअध्यक्षको विवरण लिएर जनगणना कार्य प्रारम्भ गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिन महानिर्देशक श्रेष्ठले आग्रह गर्नुभएको छ । मंसिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरिएको विभागले जनाएको छ ।

गणकहरूले एउटा परिवारलाई ८० वटा प्रश्न सोध्नेछन् । एउटा परिवारको विवरण संकलन गर्न गणकलाई औसतमा २० देखि २५ मिनेट समय लाग्ने विभागका प्रवक्ता तीर्थराज चौलागाईंले बताउनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ  । त्यसका लागि विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ  ।

तर, गणक जान नसके स्याटलाइटको माध्यमबाट त्यस क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्याका आधारमा भए पनि तथ्याङ्क निकालिने विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो ।