१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट बनाउनुपर्छ– संस्कृतिमन्त्री आले


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किटको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरू पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रूपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरूले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरूप्रति अझै धार्मिक आस्था बढेर जाने उहाँले बताउनुभयो ।

पर्यटनमन्त्री आलेले नेपाल–भारत सम्बन्ध प्राचिन, मौलिक र सभ्यताको सम्बन्ध भएको बताउनुभयो । विश्वनाथ मन्दिरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको बताउनुभयो ।

उहाँले पशुपतिनाथदेखि काशी विश्वनाथ सम्मको मोटरसाइकल र्‍यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दिर र भारतको काशी विश्वनाथ मन्दिरले दुई देशको समाजलाई जोड्नुका साथै सम्बन्धलाई निरन्तरता दिने प्रतिकका रूपमा रहेको उल्लेख गर्नुभयो ।

शुक्रबार नै दर्जनौं युवाहरुले ‘पशुपतिनाथ– काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन् । ५० भन्दा बढि मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।