१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय जनगणना सुरु, गणक र सुपरीवेक्षक उत्साहित


0
Shares

डोलराज रानाभाट
चितवन । १०–१० वर्षमा सुरु हुने राष्ट्रिय जनगणना २०७८ आजदेखि सुरु भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी पश्चातको पहिलो जनगणना भएकाले यस पटक अझ बढी प्रश्नावलीहरुको विवरण भर्नुपर्ने दायित्व गणकहरुको छ । विवरण भर्नका लागि चितवनमा ८ सय ६७ जना गणक घर–घर पुगेका छन् ।

जिल्लाभर २ सय १० जना सुपरीवेक्षकले यसअघि संकलन गरेको घर तथा घरपरिवार सूचीकरणबाट ल्याएको तथ्याङ्कका आधारमा दोस्रो चरणमा कार्तिक २५ देखि मंसिर ९ सम्म ८ सय ६७ जना गणक खटिने छन् । उनीहरूलाई मूल प्रश्नावली भर्ने तालिम कार्तिक १३ देखि १६ गतेसम्म दिइसकिएको छ ।

तालिम पश्चात गणकहरूलाई नियुक्तिपत्र, करार नामा, यसअघि सुपरीवेक्षकले तयार पारेको उतार फारम, मातृ मृत्युदर उतार फराम, आवश्यक सामग्री दिएर फिल्डमा खटाइएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारी बताउनुहुन्छ ।

यस पटकको गणनामा वडा तहसम्मै सहजीकरण समिति बनाइएको छ । एकै खालको प्रश्नावली बनाएर जनगणना गर्न सुरु गरिएको हो । यसले विवरण संकलनमा कठिन भए जनप्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका जनतालाई थप प्रष्ट्याउने र सही तथ्य विवरण आउने आशा गरिएको छ ।

त्यतिमात्रै होइन गणना कार्यमा छनोट भएर राज्यलाई केही सहयोग गर्न पाउँदा गणक पनि उत्साहित छन् । गणक हितमाया प्रजा, चेपाङ समुदायबाट आफू पनि यस अभियानमा सहभागी हुन पाउँदा एकातिर आम्दानी समेत हुने र अर्कोतर्फ आफूलाई आएको जिम्मेवारी कुशलतापूर्वक निभाउने बताउनुहुन्छ ।

इच्छाकामना गाउँपालिका वडानम्वर–५ की सुपरीवेक्षक सावित्री पुडासैनी खनालले सबै गणकहरूलाई आवश्यक सामाग्री दिएर ढुक्कले काम गर्न निर्देशन दिइसक्नुभएको छ । गणकलाई आइपर्ने समस्यामा आफूहरूले सहजीकरण गर्ने र सही, सत्य तथ्य विवरण ल्याउने गरी काम गर्ने उहाँको भनाइ छ ।

व्यक्तिले दिने विवरण तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य रहनेछन् । यदी गलत विवरण दिए उत्तरदातालाई सोही ऐन अनुसार कारवाही समेत हुनेछ । यसअघि कतिपय ठाउँका व्यक्तिहरूले तथ्याङ्क दिन अस्वीकार गरेको र गाउँमा भन्दा शहरमा कठिन भएको गुनासो बढेको थियो ।

करिव ८० वटा प्रश्नहरू गणकले भर्नुपर्ने र एउटा परिवारको विवरण लिन कम्तिमा आधा घण्टा लाग्ने बताइएको छ । सही सत्य विवरण दिएर नागरिकले १२औं जनगणना सफल पार्न आह्वान गरिएको छ ।